श्रीमदभागवत ज्ञान महायज्ञले सुदूरपश्चिमलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने: मुख्यमन्त्री शाह

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले श्रीमदभागवत ज्ञान महायज्ञले प्रदेशको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन् ।

आज धनगढीमा सुदूरपश्चिम साहित्य समाजद्वारा आयोजित श्रीमदभागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले धर्म-संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि प्रदेश सरकार सक्रिय रहेको बताए । उनले वैदिक सनातन धर्म, संस्कृति तथा धार्मिक क्षेत्रको प्रवर्द्धनका लागि सरकारले विभिन्न पहल गरिरहेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री शाहले कथावाचिका पुज्य राधिका दासजीको प्रवचनले धर्म र ज्ञानलाई व्यापक बनाउन ठूलो योगदान पुगेको उल्लेख गर्दै उनलाई अलौकिक एवं अदृश्य शक्ति प्राप्त भएको विश्वास व्यक्त गरे । उनले भने, “भगवानको वास्तविक अनुकम्पा उहाँमा प्रकट हुन्छ, उहाँको वाणी सुन्न पाउनु मेरो लागि भाग्यमानी क्षण हो ।”

मुख्यमन्त्री शाहले देवभूमि सुदूरपश्चिमलाई देश तथा विदेशमा चिनाउन र वैदिक सनातन धर्मलाई जीवित राख्न महायज्ञ महत्वपूर्ण रहेको बताए ।

फागुन २७ गतेसम्म सञ्चालन हुने श्रीमदभागवत कथा सप्ताह ज्ञान महायज्ञमा कथावाचक भागवत मंजरी पुज्य राधिका दासीले प्रवचन दिनेछिन् ।

सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेका अनुसार प्रदेशमा सांस्कृतिक संग्रहालय स्थापनाका लागि महायज्ञको आयोजना गरिएको हो ।

Loading...