प्रेस चौतारी नेपालको १२ बुँदे सुदूरपश्चिम घोषणा पत्र जारी

टीकापुर । प्रेस चौतारी नेपाल सुदूरपश्चिमको दोस्रो अधिवेशन १२ बुँदे घोषणा पत्र जारी गर्दै नयाँ कार्यसमिति चयन गरेर सम्पन्न भएको छ । घोषणा पत्रमा सुदूरपश्चिम प्रदेश सरकारलाई तत्काल सञ्चार कानुन ल्याउन, पत्रकाहरुको क्षमता अभिवृद्धि गर्न र मिडिया हाउसहरुको दिगो विकासका लागि आवश्यक कदम चाल्न, मिडिया क्षेत्रमा उच्च शिक्षा अध्ययन तथा अनुसन्धान गर्न चाहाने सञ्चारकर्मीहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्न भनिएको छ ।

सुदूरपश्चिम प्रदेशको सरकारी तथा गैरसरकारी क्षेत्रको विज्ञापन सुदूरपश्चिमकै सञ्चारगृहरु मार्फत प्रकाशन तथा प्रसारणको वातावरण बनाउन माग गरिएको छ । आसञ्चार माध्यमहरुमा लेखेकै भरमा पत्रकारमाथि विभिन्न दबाब सिर्जना गर्ने, चरित्रहत्या गर्ने तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका कार्य बन्द गर्न पनि माग गरिएको छ ।

यस्तै, नेपाल पत्रकार महासंघमा शुद्धिकरणको अभियान थप सशक्त बनाउन, श्रमजिवी पत्रकारहरुलाइ न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, महिला पत्रकारहरुको सङ्ख्या बढाउन सरोकारवालाको ध्यानाकर्षण गराइएको छ । सुदूरपश्चिमको स्थायी राजधानीको टुङ्गो लगाइ पूर्वाधार निर्माणको काम थालनी गर्न, गेटामा यथाशिघ्र मेडिकल विश्वविद्यालय स्थापना गर्नुपर्ने भनिएको छ ।

सुदूरपश्चिमको अनुहार फेर्न सक्ने आयोजनाहरु पञ्चेश्वर, पश्चिम सेती, कर्णाली चिसापानीमा अध्ययन गरिएका जलविद्युत आयोजनाहरुको निर्माण, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण, दैजी–छेला तथा डुडेझारी औद्योगिक क्षेत्र स्थापना, महाकाली करिडोर र सेती करिडोर जस्ता ठुला निर्माण कार्यहरुलाइ अघि बढाउन सरकारसँग माग गरेको छ ।

Loading...