धनगढीमा क्यान्सर केयर क्लिनिक सञ्चालनमा

धनगढी- क्यान्सरका बिरामीको गुणस्तरीय हेरचाह र पहुँच सुनिश्चित गर्न धनगढीमा क्यान्सर केयर क्लिनिक सञ्चालनमा ल्याएको छ । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडले देशभर क्यान्सर उपचार सेवा विस्तार गर्ने अभियान अन्तर्गत शनिबार देखि धनगढीमा क्लिनिक सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।

धनगढीको सेती प्रादेशिक अस्पताल लाइन अगाडि रहेको एक भवनमा  क्यान्सरको व्यापक उपचार र परामर्श सेवा प्रदान गर्ने सोचका साथ क्लिनिक स्थापना गरिएको जनाइएको छ । क्लिनिकको नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष डाक्टर खगेन्द्र भट्टले रिबन काटेर सेवा शुभारम्भ गरेका हुन् । सो अवसरमा बोल्दै डाक्टर भट्टले सुदूरपश्चिममा मेडिकल कलेज सञ्चालनमा नहुँदा अहिले क्यान्सरको उपचार गर्न काठमाडौं तथा भारतका विभिन्न स्थानमा जानुपर्ने बाध्यता रहेको बताउँदै क्लिनिकका रुपमा सेवा शुभारम्भ हुनु आफैमा यस क्षेत्रका बिरामीका लागि लाभान्वित हुन पाउने अवसर रहेको छ । अब विस्तारै यसले आफ्ना सेवाहरू विस्तार गर्दै लग्न जरुरी रहेको छ । 

डाक्टर भट्टले क्यान्सरका बिरामीले सुरुवाती चरणमै डाइग्नोसिस गराउन सके क्यान्सर रोगबाट बच्न सक्ने बताउँदै अहिले जनचेतना अभाव, आर्थिक अभाव लगायतका कारण यहाँका बिरामीहरूले दोश्रो वा तेश्रो चरणमा डाइग्नोसिस गराउन्छन । जसका कारण समयमै रोग निवारण गराउनमा चुनौति रहेको छ । डाक्टर भट्टले सुदूरपश्चिममा स्वास्थ्यका थुप्रै सेवाहरू अझै थप हुन नसकेको बताउँदै नीजि क्षेत्रबाट होस वा सरकारबाट होस् । यहाँ नभएका सेवाहरू विस्तार गर्न सके यहाँका जनताहरू यही उपचार गराउन सेवा पाउनमा सहजता हुने छ । 

अस्पतालका कार्यकारी अधिकृत डाक्टर कपिल गौतमले क्यान्सरको उपचार सेवासंगै जनचेतना फैलाउने र यहाँ अस्पताल विस्तार गर्ने उद्देश्यसहित पहिलो चरणमा क्लिनिक सञ्चालनमा ल्याइएको बताए । उनले भने ‘अस्पतालले अब देशभरीनै आफ्ना शाखाहरू विस्तार गर्ने सोच बनाएको छ । दश वर्ष अघि नेपालीको क्यान्सर नेपालमानै’ भन्ने नारासहित अस्पताल शुभारम्भ गरेको थियो ।

अब देशभरीनै सेवा विस्तार गरेर हरेक नेपालीलाई क्यान्सर उपचारमा ल्याउने योजना बनाएको छ । अस्पतालका निर्देशक विजेश घिमिरेले पहिलो चरणमा धनगढीमा सञ्चालनमा ल्याइएको क्लिनिकमा टेलिमेडिसिनबाट सेवा शुभारम्भ गरिएको बताउँदै ‘धनगढी र आसपासका क्षेत्रका बिरामीलाई विशेष हेरचाहका लागि काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्य राखेको छौ । अब धनगढीमा क्यान्सरका बिरामीले परामर्श, उपचार र फलोअप सेवा सहज रुपमा प्राप्त गर्न सक्ने भएका छन् । विस्तारै जटिल उपचारबाहेक सबै सेवा यहिबाट उपलब्ध गराइने छ ।’ 

अस्पतालका अध्यक्ष सुदिप श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सकहरू, अस्पताल सञ्चालक, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Loading...