कञ्चनपुरमा अति विपन्न परिवारका लागि घर निर्माण सुरु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का अति विपन्न परिवारका लागि घर निर्माण कार्य सुरु भएको छ । ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालको साझेदारीमा नगरपालिकाले यो योजना अघि बढाएको हो।

नगर प्रवक्ता लाल बहादुर ऐरका अनुसार सिमलखेत क्षेत्रमा ११ अति विपन्न परिवारका लागि घर निर्माण कार्य शुक्रबार देखि सुरु गरिएको छ । नगरपालिकाले २५ लाख रुपैयाँ, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालले संयुक्त रूपमा २५ लाख रुपैयाँ उपलब्ध गराउनेछन् । बाँकी रकम श्रमदान मार्फत जुटाइनेछ, जसले गर्दा कुल लागत ७० लाख रुपैयाँ पुग्नेछ ।

नगरपालिकाकी उपप्रमुख कल्पना पन्तले आगामी दिनमा अन्य वडाका विपन्न परिवारका लागि पनि घर निर्माण गर्ने योजना रहेको बताइन् । उनले यसका लागि विभिन्न संघसंस्थाहरुसँग सहकार्य भइरहेको जानकारी दिइन् । उनले घर पाएपछि विपन्न परिवारको झुपडीमा बस्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरिन् । शुक्रबार उपप्रमुख पन्तले निर्माण हुन लागेका ११ वटा घरको शिलान्यास गरेकी थिइन् ।

Loading...