

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका मा आजदेखि मानव अधिकारका लागि महिला, एकल महिला समूह द्वारा संचालित एकल महिला सशक्तिकरण कार्यक्रम सुरु भएको छ ।


गोदावरी नगरपालिकामा मानव अधिकारका लागि महिला, एकल महिला समूह द्वारा एकल महिला तथा विपन्न समुदायको सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सुरु गरिएको छ । यस अघि कैलारी गाउँपालिका मा प्रभावकारी रूपमा काम गरिसकेको समूहले अब गोदावरी नगरपालिकामा पनि महिलाहरूलाई आत्मनिर्भर बनाउन पहल गर्दैछ ।




समूहका संयोजक वेद अवस्थीका अनुसार, सीपमूलक तालिम, कानुनी सहायता, बालबालिका शिक्षा, हिंसा विरुद्ध सचेतना, महिला स्वास्थ्य तथा स्वरोजगार कार्यक्रमहरू संचालन गरिनेछ । यस अभियानलाई KURVE Wustrow को सहकार्यमा अघि बढाइनेछ ।
कार्यक्रमको प्रमुख अतिथिमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले रहेका थिए साथै विशिष्ट अतिथिमा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया रहनुभएको थियो । उहाँले नगरपालिका भित्र एकल महिला, विपन्न तथा दलित महिलाहरूको अधिकारको सुनिश्चितता गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । साथै आज देखि लागू भएको कार्यक्रमलाई सदैव सहयोग सँगै साथ समर्थन गर्ने बताएकी छिन् ।
मानव अधिकारका लागि महिला, एकल महिला समूहकी संयोजक वेद अवस्थीका अनुसार, समूहले विगतमा कैलारी गाउँपालिकामा यस्ता कार्यक्रम सञ्चालन गरिसकेको छ । यस पटक गोदावरी नगरपालिकामा कार्यक्रमलाई विस्तार गरिएको बताएकी छिन् । साथै कार्यक्रममा इन्सेक नेपाल र फाया नेपाल, निड्स नेपालका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।
फाया नेपालकी अध्यक्ष गोमा आचार्य ले बालबालिकाको सशक्तिकरण र समावेशी समुदायको विकास गर्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताइन् । सरोकारवालाहरूलाई समेटेर आयोजना गरिएको परिचयात्मक कार्यक्रम ले एकल महिलाहरूको आर्थिक, सामाजिक तथा कानुनी अधिकार प्रवर्द्धनमा मद्दत गर्ने अपेक्षा गरिएको छ ।

