पार्टी नेतृत्व विरुद्ध भइरहेको भ्रम चिर्न लाग्नुपर्छ : एमाले सचिव भट्ट

अत्तरिया- नेकपा (एमाले) का केन्द्रीय सचिव लेखराज भट्टले नेकपा (एमाले) र सरकार सही बाटोमा गइरहे पनि विरुद्धमा अनेक भ्रम भइरहेकाले त्यसलाई चिर्न पार्टी पङ्क्ति लाग्न आवश्यक रहेको बताएका छन ।

‘विरोधीले प्रशंसा गरिरहेको छ भने केही बिग्रिरहेको त छैन भनेर शङ्का गर्नुपर्छ, धुमधाम विरोध गरिरहेको छ भने राजनीति सही बाटोमा छ भन्ने बुझ्नुपर्छ’ सचिव भट्टले भने । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय कार्यशालामा आज उनले यस्तो बताएका हुन ।

Navadurga sun

भट्टले भने, ‘पार्टी नेतृत्व सही बाटोमा गइरहेको बेला एक तप्काले निरन्तर विरोध गरिरहेको छ, त्यो भ्रम चिर्न, नेतृत्व र विचारको रक्षा गर्न आवश्यक छ ।’ कार्यकर्ताले ध्वंस गर्ने उद्देश्यले नभइ रचनात्मक हिसाबले उचित प्लेटफर्ममा पार्टी नेतृत्वको स्वस्थ आलोचना गर्न मिल्ने उनले बताए ।

एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सामाजिक सञ्जालमा झुटा र भ्रमपूर्ण सूचनाले सारा देश, राजनीतिक नेतृत्व तरङ्गित गरिरहेको बताए । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएकोमा पक्ष विपक्षमा बहस जारी रहेको उनको भनाइ छ ।

अभिव्यक्ति स्वतन्त्रताबाट वञ्चित गर्न ल्याएको भन्ने भ्रम छर्न खोजिएको छ, गौतमले भने, ‘सरकारले सामाजिक सञ्जालका प्लेटफर्ममा अहिले प्रयोग भएका शब्द सामग्रीलाई व्यवस्थित हुनेगरी ल्याउन खोजेको होला, पार्टीका कार्यकर्ताले पनि सोसल मिडियाको प्रभाव, प्रयोग र दुरुपयोग थाहा पाउनुपर्छ ।’

पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले कार्यशालामा सामाजिक सञ्जालको प्रयोग दुरुपयोगबारे जानकारी दिने, पार्टी र आम सञ्चारसँगको सम्बन्ध र सुदूरपश्चिममा पार्टी प्रचारको भावी कार्ययोजना बनाउने बताए ।

पार्टीको प्रदेश प्रचार संयोजक भागिरथी विष्टले पार्टी प्रचारका लागि नेतृत्वको क्षमता बढाउन सञ्चार विज्ञबाट प्रशिक्षण गराइने बताइन ।

नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटीका पदाधिकारी, पार्टीका जिल्ला अध्यक्ष, सचिव र प्रचार संयोजक सहभागी कार्यशाला दुई दिनसम्म चल्नेछ । सञ्चार विज्ञहरु दीपेन्द्र श्रेष्ठ, भुवन केसीले प्रशिक्षण दिनुहुने पार्टीका प्रदेश उपसंयोजक मातृका तिमिल्सिनाले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...