कैलाली स्थित धनगढीको खुल्ला मञ्च व्यवस्थित गरिदै

धनगढी-  कैलाली स्थित धनगढीको खुल्ला मञ्च व्यवस्थित गरिने भएको छ । धनगढी उपमहानगरपालिकाले खुल्ला मञ्चको दक्षिण क्षेत्रको भाग व्यवस्थित गर्ने भएको हो । धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चको दक्षिण क्षेत्रको अतिक्रमण खाली गरेकोमा व्यवस्थित गरिने भएको छ ।

धनगढी उपमहानगरपालिका र महिला मैत्री सहर परियोजनाको संयुक्त लगानीमा खुल्ला मञ्च व्यवस्थित गरिने भएको हो। धनगढी उपमहानगरपालिकाले खुल्ला मञ्च व्यवस्थित गर्न विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । चालु आर्थिक वर्षमा नै विस्तृत योजना प्रतिवेदन (डिपीआर) स्वीकृत गर्दै ठेक्का गरेर काम पूरा हुने छ ।

धनगढी उपमहानगरपालिकाले २ करोडका संरचनाहरू चालु आर्थिक वर्षमा निर्माण पूरा हुने बताएको छ। महिला मैत्री सहर परियोजनाको एक करोड ५० लाख र धनगढी उपमहानगरपालिकाको ५० लाखको लागतमा भौतिक संरचनाहरू निर्माण गरिने छन् । परियोजनाले ७० प्रतिशत र धनगढी उपमहानगरपालिकाले ३० प्रतिशत लगानी खुल्ला मञ्चमा गर्ने भएको छ। धनगढी उपमहानगरपालिकाले माटो भरान, सडक निर्माण र शौचालय लगायतको काम थप गर्ने भएको छ । धनगढी उपमहानगरपालिकाले विस्तृत योजना स्वीकृत नगरेको भएपनि झण्डै ५ करोड खुल्ला मञ्चमा खर्च गर्नुपर्ने देखिएको छ ।

चालु आर्थिक वर्षमा खुल्ला मञ्चमा बालबालिकाका लागि खेल्ले स्थान तयार हुने छ । ज्येष्ठ नागरिक मिलन केन्द्र, युवा लक्षित क्षेत्र, खानाका अस्थायी स्टलहरू, विश्राम स्थल र शौचालय निर्माणको काम चालु आर्थिक वर्षमा तयार गर्ने गरिने छ । धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले भने, ‘डिपीआर तयार भएको छ । स्वीकृत हुन बाँकी छ । २ करोडको काम यो वर्ष हुन्छ । खर्च झण्डै ५ करोड जस्तो होला । त्यहाँ अरू पनि काम छन् ।’ महिलाहरूले रातिको समयमा समेत व्यापार गर्ने सक्ने गरेर विद्युत लाइट जडान तथा संरचनाहरू निर्माण गरिने भएको हो । धनगढीका महिलालाई आयस्रोतसँग जोड्न शनिवारीय महिला उद्यम मेला सञ्चालन गर्दै आएको धनगढी उपमहानगरपालिकाले खुल्ला मञ्च क्षेत्रमा समेत रात्रि बजार सञ्चालन गर्न सकिने संरचनाहरू निर्माण गर्ने भएको छ ।

Loading...