राप्रपाले अत्तरिया देखि धनगढीसम्म वृहत् मोटरसाइकल र्‍याली निकाल्ने

अत्तरिया- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कैलालीको अत्तरियादेखी धनगढीसम्म वृहत मोटरसाइकल र्‍याली निकाल्ने भएको छ ।

भोली (मंगलबार) राष्ट्रवादी युवा समुह र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय झण्डासहितको वृहत र्‍याली निकाल्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले जानकारी दिए ।

आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीब्रता दिन, राजनीतिक स्थिरता प्रदान गर्न तथा राजनीतिक स्थायित्वकै लागि संविधान संशोधन र तदनुकुलको कानुन निर्माणलाई प्राथमिकता दिने भन्दै सातबुँदे सहमतिमार्फत गठन भएको एमाले–कांग्रेसको गठबन्धन सरकार, सरकार निर्माणको आफ्नो उद्देश्यबाट च्युत भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भोली मोटरसाईकल र्‍याली र १८ गते धनगढीमा आमसभा गर्ने जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिम प्रदेशको कार्यले र्‍यालीको तयारी पुरा गरेको प्रदेश अध्यक्ष जोशीले बताए ।

त्यसका साथै पछिल्लो केही समययता अन्तरराष्ट्रिय स्तरमा देशको स्वाभिमान घट्दै आएको बेलामा राष्ट्रवादी योद्धाहरु जाग्न जरुरी रहेको सन्देश दिनलाई पनि र्‍याली आयोजना गर्न लागिएको उनले बताए ।

झन्डै ५ सय बाइक सहितको र्याली धनगढी पुगेर कोण सभामा परिणत हुने पार्टीका युवा नेता विराज बिष्टले बताए । र्याली पछिको कोण सभालाई सांसद धबल सम्शेर राणाले सम्बोधन गर्ने छन् ।

हालको प्रदेश संरचना खारेज , राज संस्था सहितको हिन्दु राज्य पुनःस्थापन र भ्रष्टाचार विरुद्ध दबाब दिने उदेश्यले र्याली को आयोजना गरिन लागेको उनको भनाई रहेको छ ।

अत्तरिया बसपार्कबाट मंगलबार दिउँसो १२ बजेदेखी धनगढी सम्मका लागि र्‍याली आयोजना हुने बताउदै उनले र्‍यालीमा सहभागी भईदिन सम्पुर्णलाई आग्रह पनि गरे ।

Loading...