गेटा अस्पतालको अस्थायी दरबन्दी स्वीकृत नहुँदा सेवा प्रभावित

अतरिया- गेटा अस्पतालमा चालु आर्थिक वर्षमा अस्थायी दरबन्दी स्वीकृत नहुँदा समस्या उत्पन्न भएको छ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वर्ष ५० शय्याको अस्थायी स्वीकृति दिएर अस्पताल सञ्चालनको अनुमति दिएको थियो । त्यसअनुसार सरकारले असोज महिनामा १ सय ४१ जनाको अस्थायी दरबन्दी स्वीकृत गरे पनि हाल सम्म कार्यान्वयन हुन सकेको छैन । कर्मचारी व्यवस्थापन र अन्य प्रक्रिया अघि नबढ्दा अस्पतालको लागि छुट्याइएको बजेट फ्रीज हुने सम्भावना बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलका अनुसार गेटा अस्पताललाई आवश्यक परेकाले बजेट विनियोजन गरिएको हो । तर, अन्य प्रक्रिया अघि नबढ्दा केही बजेट फिर्ता भएको छ । कति रकम फिर्ता भयो भन्नेबारे उनले खुलाउन चाहेनन् ।

गत कात्तिक पहिलो साता अस्पतालको निर्देशकका रूपमा डा. अशोक श्रीपाईली नियुक्त भएका थिए, तर उनले माघ पहिलो साता राजीनामा दिएपछि हालसम्म नयाँ निर्देशक नियुक्त हुन सकेको छैन । अस्पतालका कर्मचारीहरूले नेतृत्व अभावका कारण व्यवस्थापनमा समस्या देखिएको बताएका छन् ।

अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार चालु आर्थिक वर्षमा कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत हुन नसकेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार गेटा मात्र नभई कुनै पनि अस्थायी दरबन्दी स्वीकृत भएको छैन । उनले स्थायी दरबन्दी पदपूर्ति गरी जनशक्ति व्यवस्थापन गर्ने सरकारको नीति रहेको बताए । गेटा अस्पतालको दरबन्दीबारे राजनीतिक तहमा छलफल भइरहेको उनको भनाइ छ ।

हाल आकस्मिक सेवा, आईसीयू, भेन्टिलेटर, शल्यक्रिया कक्ष र इनडोर सेवा तयारी अवस्थामा रहेको छ । अक्सिजन आपूर्तिका लागि प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

Loading...