

अत्तरिया- कैलालीको बर्दगोरिया गाउँपालिका ४ नं वडा कार्यालयले महिला दिदीबहिनीहरूलाई आत्मनिर्भर बन्न र आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले बाख्रा वितरण गरेको छ । वडा कार्यालय र बालकल्याण संघ टीकापुरको आर्थिक सहयोगमा वडा भरी रहेका ११ वटा समुहका महिलाहरूलाई निःशुल्क बाख्रा वितरण गरेको हो ।


वडा भित्रका ३३ जना एकल विपन्न वर्गका महिलालाई एक/एक वटा बाख्रा निःशुल्क वितरण गरिएको वडाध्यक्ष जगत बहादुर शाहीले जानकारी दिए । यसका लागि वडा कार्यालयको २ लाख ५० हजार र बालकल्याण संघ टिकापुरको २० हजार गरि जम्मा २ लाख ७० हजारमा बाख्रा बितरण गरिएको हो ।




वडा अध्यक्ष शाहीका अनुसार वडा कार्यालयले उन्नत जातको बाख्रा निःशुल्क वितरण गरेपछि लाभग्राही महिला हर्षित भएका छन् ।
अनुदानमा दिइएको बाख्राबाट महिला दिदीबहिनीहरूले आफ्नो जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै वडा अध्यक्ष शाहीले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न समेत आग्रह गरेका छन् । उनले भने, “अनुदानमा पाएको बाख्राको स्याहारसुसार गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।”
बाख्रा पाएका एक जना सहभागिले भने हाम्रो समूहमा १८ जना महिला दिदीबहीनी छौँ । त्यसमा हाम्रो समूहबाट ३ जनाले बख्रा प्राप्त गरेका छौँ । वडा अध्यक्षले यस्तो किसिमको बाख्रा वितरण गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै यसले हाम्रो आयआर्जनमा वृद्धि गरि बालबच्चाहरूको पढाइको खर्च समेत निकाल्न सकिने बताएकी हुन् ।
बाख्राबाट अझ बढी पाठीहरू भएको खण्डमा समूहका अन्य महिला दिदीबहिनीहरूलाई समेत दिन सकिने कुरा समेत बताएकी थिइन् । बाख्रा प्राप्त गरेकाहरूले आफूहरूले आयआर्जनको दायरा फराकिलो पारी आत्मनिर्भर हुने कुरा व्यक्त गरेका थिए ।

