रोजगारी नपाउँदा घरमा ताला लगाएर भारत लागे बादी समुदाय

कञ्चनपुर । रोजगारी नपाउँदा कृष्णपुर नगरपालिका-२ गुन्यालफाँटाका बादी परिवार घरको ढोकामा ताला झुण्ड्याएर भारततर्फ लागेका छन्। जीविकोपार्जनका लागि केही सिप नचलेपछि बालबच्चा बोकेर भारततर्फ लागेका हुन्।

परम्परागत पेशा-व्यवसाय विस्थापनमा परेपछि वैकल्पिक रूपमा मजदुरी गर्दै आएका बादी परिवारले त्यो पनि नपाएपछि बाध्य भएर भारतमा दरवान र कुल्ली भएर काम गर्दै आएका छन्। बीस बढी परिवार कामको खोजीमा भारततर्फ लागेको बादी अगुवा पदम राना (बादी) ले बताए।

Godawari sandesh
Navadurga sun

‘परम्परागत पेशाका रूपमा माटोबाट हुक्का, सुल्पा, गाग्री, फूलदानी, गमला, धुपदानीलगायत सामग्रीसँगै मादल बनाउँदै आएका थियौँ”, उनले भने, ‘वन क्षेत्र संरक्षित गरिएपछि माटो ल्याउन पाइएन, माटाका सामानको तुलनामा प्लाष्टिकका सामानको प्रचलन बढी चल्न थालेपछि पलायन हुनुपरेको छ।’ ठूलो रूपमा उत्पादन गरी बजारमा बिक्री गर्न पुँजी अभाव भएकाले परम्परागत पेशा संकटमा परेको उनले बताए।

Dadeldhura hospital

बादी समुदायको परम्परागत पेशा जोगाउन सरकारी तवरबाट अनुदानलगायत कार्यक्रम सञ्चालन हुन नसकेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे। ‘माटोबाट विभिन्न सामग्री उत्पादन गरी भारतीयहरूले मनग्य आम्दानी गर्दै आएका छन्’, दुरादेवी कुमालले भनिन्, ‘परम्परागत सीप भए पनि पुँजी छैन, माटोको कार्य गरे समाजमा नराम्रो तरिकाले हेर्ने कारण पनि पुरानो पेशालाई तिलाञ्जली दिनुपरेको छ।’

परम्परागत पेशा छाडेपछि विकल्पमा कृषि, यातायात र निर्माण क्षेत्रमा मजदुरी गरेर केही वर्ष साँझबिहानको छाक टार्दै आएका थिए। कोरोना महामारीपछि त्यो पनि खोसियो। त्यसपछि काम पाउन मुस्किल हुन थालेपछि परिवारसहित बस्तीका व्यक्ति भारततर्फ पलायन भएको उनले बताए।

‘बस्तीमा घरबासका लागि छ धुर जति जग्गा मात्र छ, त्यसमै बनेका खस्नै थालेका झोपडी छन्, केशव कुमालले भने, ‘केही परिवारसहित भारततर्फ लागेका छन्, अरू परिवारका बुढापाका र महिला मात्र बस्तीमा छन्, युवा सबै भारतमै मजदुरी गर्छन्, त्यसबाटै परिवारको पेट पालिन्छ।’ कुसुण्डा, राजी, राउटेलगायत जातिमा बच्चा जन्मेदेखि नै भत्ता दिने व्यवस्था सरकारले गरेजस्तै बादी समुदायलाई पनि भत्तामा समेट्नुपर्ने उनको भनाइ छ।

जातीय विभेदको अन्त्य अझै हुन नसकेको चर्चा उनीहरूले कथित उपल्लो जातका व्यक्तिको चिया पसलमा चिया पिउँदा गिलास माझ्नुपर्ने अवस्था अझै विद्यमान रहेको बताए।

संघीय राजधानी पुगेर कैयौँपटक आन्दोलन गर्दा भएका सम्झौता अहिले पनि कार्यान्वयनमा नआउँदा आधारभूत सेवासुविधाबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ। आवासको व्यवस्था नहुँदा एकै घरमा तीन–तीन परिवार पनि बस्दै आएका छन्। केही परिवार भारतमा गएका बेला अर्को परिवार भारतबाट फर्केर बस्ने गरेका छन्। रासस

 

Loading...