धनगढीमा सीप तथा रोजगार मेला सुरु, मन्त्री भण्डारीले गरे उद्‌घाटन

धनगढी- धनगढीमा बिहीबार देखि सीप तथा रोजगार मेला सुरु भएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा सुरु भएको मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्‌घाटन गरेका हुन् ।

मन्त्री भण्डारीले नेपालमा दक्ष जनशक्तिको अभाव रहेको बताउँदै यस्ता मेलाबाट त्यस्तो जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताए । ‘हाम्रो देशमा रहेको जनशक्ति निर्यात हुने र अन्यत्रबाट आयात गर्नुपर्ने समस्या छ,’ उनले भने, ‘अब दक्ष जनशक्ति उत्पादन संगै रोजगार दिने कुरामा पनि जोड दिन आवश्यक छ ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका अनुसार रोजगार मेलामा तालिम लिनका लागि नौ जिल्लाका ४७ स्थानीय तहबाट चार हजार आठ सय ३० जनाले आवेदन दिएका थिए । ‘तीमध्ये ३९ पालिकाका एक हजार ४० जना छनोट भएका छन्,’ मेयर हमालले भने, सहभागी प्रशिक्षार्थीहरूलाई २९ विधामा तालिम दिइने छ ।’ मेयर हमालले यस्तो मेला हरेक वर्ष आयोजना गर्नुपर्ने बताउँदै संघीय सरकारले नै स्वामित्व लिए प्रभावकारी हुने बताए ।

‘यसपटक धनगढीमा रोजगार मेला भइरहेको छ,’ उनले भने, ‘संघीय सरकारले स्वामित्व लिए अर्कोपल्ट सुदूरपश्चिमका अन्य ठाउँमा आयोजना गर्न सकिन्छ । स्वरोजगारका लागि यस्ता मेला प्रभावकारी हुन्छन् ।’ युवाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको मागअनुसार सीप सिकाइ दक्ष बनाउने मेलाको उद्देश्य रहेको हमालले बताए ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष प्रमोद पाठकले तालिम ४० दिनसम्म चल्ने जानकारी दिए । ३० दिन विभिन्न विधामा सीपमुलक तालिम, पाँच दिनसम्म जीवन उपयोगी र उद्यमशीलता विकास सम्बन्धी तालिम दिइनेछ भने दुई दिन रोजगारदाता र तालिमप्राप्त युवाहरु बीच अन्तरक्रिया गरिने पाठकले जानकारी दिए । मेलामै रोजगारदाता र तालिम प्राप्त दक्ष जनशक्ती बीच रोजगारीका लागि अन्तरक्रिया गराउने तथा रोजगारको लागि अभ्यास पनि गराइने बताइएको छ ।

Loading...