धनगढीमा सीप तथा रोजगार मेला सुरु, मन्त्री भण्डारीले गरे उद्‌घाटन

धनगढी- धनगढीमा बिहीबार देखि सीप तथा रोजगार मेला सुरु भएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा सुरु भएको मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्‌घाटन गरेका हुन् ।

मन्त्री भण्डारीले नेपालमा दक्ष जनशक्तिको अभाव रहेको बताउँदै यस्ता मेलाबाट त्यस्तो जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताए । ‘हाम्रो देशमा रहेको जनशक्ति निर्यात हुने र अन्यत्रबाट आयात गर्नुपर्ने समस्या छ,’ उनले भने, ‘अब दक्ष जनशक्ति उत्पादन संगै रोजगार दिने कुरामा पनि जोड दिन आवश्यक छ ।

Godawari sandesh
Navadurga sun
Dadeldhura hospital

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका अनुसार रोजगार मेलामा तालिम लिनका लागि नौ जिल्लाका ४७ स्थानीय तहबाट चार हजार आठ सय ३० जनाले आवेदन दिएका थिए । ‘तीमध्ये ३९ पालिकाका एक हजार ४० जना छनोट भएका छन्,’ मेयर हमालले भने, सहभागी प्रशिक्षार्थीहरूलाई २९ विधामा तालिम दिइने छ ।’ मेयर हमालले यस्तो मेला हरेक वर्ष आयोजना गर्नुपर्ने बताउँदै संघीय सरकारले नै स्वामित्व लिए प्रभावकारी हुने बताए ।

‘यसपटक धनगढीमा रोजगार मेला भइरहेको छ,’ उनले भने, ‘संघीय सरकारले स्वामित्व लिए अर्कोपल्ट सुदूरपश्चिमका अन्य ठाउँमा आयोजना गर्न सकिन्छ । स्वरोजगारका लागि यस्ता मेला प्रभावकारी हुन्छन् ।’ युवाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको मागअनुसार सीप सिकाइ दक्ष बनाउने मेलाको उद्देश्य रहेको हमालले बताए ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष प्रमोद पाठकले तालिम ४० दिनसम्म चल्ने जानकारी दिए । ३० दिन विभिन्न विधामा सीपमुलक तालिम, पाँच दिनसम्म जीवन उपयोगी र उद्यमशीलता विकास सम्बन्धी तालिम दिइनेछ भने दुई दिन रोजगारदाता र तालिमप्राप्त युवाहरु बीच अन्तरक्रिया गरिने पाठकले जानकारी दिए । मेलामै रोजगारदाता र तालिम प्राप्त दक्ष जनशक्ती बीच रोजगारीका लागि अन्तरक्रिया गराउने तथा रोजगारको लागि अभ्यास पनि गराइने बताइएको छ ।

Loading...