

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर २ वाणीमा बालबालिका माथि हुने अनलाइन हिंसा र साइबर सुरक्षासम्बन्धी सचेतना कार्यक्रम बुधबार सम्पन्न भएको छ। साथी संस्थाको आयोजना अन्तर्गत वडा स्तरीय बाल क्लबका अध्यक्ष टेक जोशीको सभाअध्यक्षतामा कार्यक्रम कृष्णपुर २ वडा सभाहलमा आयोजित गरिएको थियो ।




कार्यक्रमका प्रमुख वक्ताहरूमा समाजिक परिचालक कमल प्रसाद जोशी, मिना रावल र मनोविमर्शकर्ता राजमति भट्ट थिए । उनीहरूले बालबालिकाले अनलाइन प्लेटफर्मको प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षाका उपाय, अनलाइन हिंसाका विभिन्न रूपहरू र तीबाट जोगिने तरिकाहरूका बारेमा प्रशिक्षण प्रदान गरेका हुन् ।


वक्ताहरूले अनलाइन हिंसाका सम्भावित खतराहरूबाट सचेत रहन र साइबर सुरक्षा प्रविधिहरूको प्रयोगमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । सहभागीहरूले बालबालिकालाई अनलाइन जोखिमबारे शिक्षित बनाउन यस्ता कार्यक्रमहरूको निरन्तर आयोजना गर्न जोड दिए ।
कार्यक्रममा उज्यालो बाल क्लबका सदस्यहरू, अभिभावकहरू र विद्यालयका प्रतिनिधिहरूले महत्वपूर्ण सहभागिता जनाएका थिए, जसले बालबालिकालाई अनलाइन सुरक्षाबारे थप जागरूक बनाउने अपेक्षा बढाएको छ ।

