आफ्नै घर भत्काउँदै कञ्चनपुरको बेलडाँडी गाउँपालिका प्रमुखले दिए विकासको सन्देश

बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले सडकमा पर्ने आफ्नै व्यावसायिक भवन डोजर लगाएर भत्काएका छन् । चवन्नी बजारदेखि कालिकिच ताल जोड्ने सडक विस्तारको क्रममा सडक क्षेत्रमा परेको आफ्नै घर हटाएर उनले विकासप्रति आफ्नो प्रतिबद्धता देखाएका हुन् ।

केही वर्षअघि उनले चवन्नी बजारमा व्यावसायिक सटर निर्माण गरेका थिए । गाउँपालिकाले सो क्षेत्रको सडक विस्तार गर्ने निर्णय गरेपछि प्रमुख रानाले नक्साअनुसार सडकमा पर्ने आफ्नो घर हटाएका हुन् ।

गाउँपालिकाले चवन्नी–कालिकिच सडक विस्तारका क्रममा सडकमा पर्ने संरचना हटाउन दुई पटक सूचना जारी गरेको थियो । अन्य स्थानीयहरू हटाउन आनाकानी गरिरहेकै अवस्थामा गाउँप्रमुख रानाले मंगलबार आफ्नै घर भत्काएर उदाहरण प्रस्तुत गरेका हुन् ।

सार्वजनिक विकासमा व्यक्तिगत स्वार्थभन्दा समाज हितलाई प्राथमिकतामा राख्दै गाउँपालिका प्रमुख रानाले विकासका लागि सबैले सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । 

‘हामी सबैले नक्साअनुसारका संरचना हटाएर व्यवस्थित र दिगो विकासको बाटो रोज्नुपर्छ,’ उनले भने, ‘सडक विस्तारका क्रममा केही असहजता आउन सक्छ, तर दीर्घकालीन रूपमा यसले व्यापार, यातायात र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँछ ।’

नक्सा अनुसारको सडकलाई कुनै व्यक्तिले निजीकरण गर्न नसक्ने भएकाले सबैलाई सहमतिमा आउनुपर्ने उनको भनाइ छ । संघीय सरकारको एक करोड बजेटमा चवन्नी बजार देखि कालिकिच तालसम्मको सडक विस्तार योजना अगाडि बढाइएको छ । सडक स्तरोन्नति भएसँगै चवन्नी बजार र पर्यटकीय गन्तव्य कालिकिच ताल जोडिन लागेकोमा स्थानीयवासी हर्षित भएका छन् ।

Loading...