धनगढीको फूलबारीमा गौशाला उद्घाटन

धनगढी- कैलाली स्थित धनगढीको फूलबारीमा गौशालाको उद्घाटन गरिएको छ । धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा निर्माण गरिएको गौशालाको उद्घाटन गरिएको हो ।

एक करोड २० लाख बढीमा निर्माण गरिएका गौशालाका संरचनाहरू प्रदेश सभा सदस्य धर्मराज पाठकले आइतवार उद्घाटन गरेका हुन । धनगढी उपमहानगरपालिका–१६ रामपुर र १८ फूलबारीमा गौशाला निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो। धनगढी उपमहानगरपालिकाको १ करोड २० लाख ९ हजार ६ सय ५५ रुपैयाँ आन्तरिक स्रोतबाट फूलबारीमा गौशाला निर्माणको काम भएको हो ।

फूलबारीमा गौशालाको २ वटा ट्रस निर्माणको काम उपभोक्ता समितिले गरेको छ । ६० लाख ८९ हजार पाँच सय ९६ रुपैयाँमा २ वटा ट्रस निर्माण गरिएको छ । धनगढी उपमहानगरपालिकाले ४९ लाख ९१ हजार ९ सय ९१ रुपैयाँ भुक्तानी दिएको छ ।

फूलबारी गौशालामा घेरबार र गार्ड घर निर्माणको काम आरएस कन्स्ट्रक्सन, धनगढीले २८ लाख ८५ हजार ७ सय ६७ रुपैयाँमा गरेको हो । २०८० असोज १० गते आरएस कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको थियो । बोरिङ्ग र स्टोर हाउसको काम ४१ लाख ५४ हजार ९ सय ८६ मा आरआर निर्माण सेवा, धनगढी र शौचालय निर्माणको काम आरएस कन्स्ट्रक्सन, धनगढीले १ लाख ४४ हजार ५ सय ४५ रुपैयाँमा गरेको हो ।

सामुदायिक पशुका कारण दुर्घटना हुने र किसानको खेतीबारीमा नोक्सानी हुन थालेपछि उपमहानगरपालिकाले व्यवस्थापन गर्न गौशाला निर्माण गरेको छ । कलस्टर (क्षेत्र) अनुसार व्यवस्थित गौशाला निर्माण गरिएका हुन । धनगढीमा वडा नम्बर १६ र वडा नम्बर १८ मा गौशाला पहिलो चरणमा निर्माणको काम थालिएको थियो ।

धनगढी उपमहानगरपालिकाको कलस्टर अनुसार ४ वटा गौशाला निर्माण गर्ने योजना छ । वडा नम्बर १६ र १८ मा काम भएको छ । वडा नम्बर ३ मा एक गौशाला पहिले निर्माण गरिएको छ । दक्षिण र उत्तर क्षेत्रमा गौशाला निर्माणका लागि जग्गाको व्यवस्था भएको छैन् ।

उपमहानगरपालिकाले १ सय ५० सामुदायिक पशुको एक गौशालामा व्यवस्थापन गर्ने लक्ष्य छ । गौशाला सञ्चालनका लागि उपमहानगरपालिकाले संस्थाहरूसँग सम्झौता गर्नेछ । धनगढीका अन्य दुई स्थानमा पनि उपमहानगरपालिकाले गौशाला निर्माण गर्नेछ । तर, जग्गाको अभाव भएको उपमहानगरपालिकाले बताएको छ ।

भारतको कानपुरको प्रविधि अनुसार धनगढीका पशुको व्यवस्थापन गर्न थालिएको हो । धनगढीको वडा नम्बर ३ एक संस्था र वडा नम्बर ७ मा उपमहानगरपालिकाले गौशाला सञ्चालन गर्दै आएको छ । वडा नम्बर ७ को गौशाला देवरीया वनस्पति उद्यानमा छ ।

जग्गाको भोगाधिकार नलिएकाले वडा नम्बर ७ को गौशाला विवादीत छ । धनगढी उपमहानगरपालिकाले कलस्टर अनुसार थप गौशाला निर्माण गर्दै छ । वडा नम्बर ६, ११ र १३ का लागि एक, वडा नम्बर ९, १० र १२ का लागि अर्को गौशाला निर्माण गर्ने योजना उपमहानगरपालिकाको छ ।

Loading...