गेटामा अझै पनि अन्योल, सेती प्रादेशिक अस्पाताल गाभिएला त ?

अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारले धनगढी स्थित सेती प्रादेशिक अस्पताललाई कैलालीको गोदावरी नगरपालिका–५ गेटामा गाभ्ने प्रस्ताव अघि सारेको छ। गेटामा रहेका भौतिक संरचनाहरू जीर्ण बन्दै गएपछि तिनको उपयोग गर्दै बिरामीलाई सेवा दिने उद्देश्यले संघीय सरकारलाई प्रस्ताव पत्र पठाइएको हो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काका अनुसार, अर्बौँ रुपैयाँ लागतमा निर्माण गरिएका संरचना प्रयोग विहीन बन्न नदिन सेती अस्पताललाई गेटामा गाभेर सञ्चालन गर्न प्रस्ताव गरिएको छ ।

गेटामा मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विश्वविद्यालयको परिकल्पना गरिएको भए पनि आवश्यक उपकरण तथा सेवा सुविधा अभावका कारण अस्पतालमा बिरामीहरूको उपस्थिति न्यून छ । प्रदेश सरकारले संघीय सरकारलाई कात्तिक ८ गते प्रस्ताव पठाएको थियो, जसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहमति जनाएको छ । हाल फाइल अर्थ मन्त्रालयमा स्वीकृतिका लागि विचाराधीन छ ।

गेटामा गत वर्षदेखि १०० शय्याको अस्पताल सञ्चालनमा आएको थियो । सरकारले ३०० शय्याको सुविधा तथा एमबीबीएस कार्यक्रम सुरु गर्न संसद्को चालू अधिवेशनबाट विधेयक पास गर्नुपर्ने आवश्यकता रहेको मन्त्री खड्काले बताए ।

हाल, गेटा अस्पताल आवश्यक मेडिकल उपकरण तथा जनशक्ति अभावले प्रभावकारी सेवा दिन असमर्थ देखिएको छ । संघीय सरकारले आवश्यक निर्णय नलिएमा स्थानीय समुदाय तथा सरोकारवालाले आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

गेटा अस्पताल र विश्वविद्यालयको भविष्य अहिले अनिश्चित बनेको छ । ६.५ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएका संरचनाहरू जीर्णोद्धारको अवस्थासम्म पुगेका छन् । २०८० असोजमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक संसदमा दर्ता भए पनि हालसम्म पारित हुन सकेको छैन ।

संसदमा विधेयक अड्किएका कारण विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढ्न सकेको छैन । स्थानीय जनप्रतिनिधिहरू र समुदाय यसको समाधानका लागि निरन्तर सङ्घर्षरत छन् ।

Loading...