सुदूरपश्चिमका दुई पालिकामा आज बिदा

धनगढी । जनयुद्ध दिवसको अवसरमा सुदूरपश्चिमका २ पालिकाले बिदा दिएका छन् । फागुन १ गते जनयुद्ध सुरु भएको दिनको अवसरमा नेकपा माओवादी केन्द्रले मनाउँदै आएको जनयुद्ध दिवसको अवसरमा दार्चुलाको नौगाड गाउँपालिका र अछामको रामारोशन गाउँपालिकाले स्थानीय बिदा दिएका हुन ।

नौगाड गाउँपालिकाले बुधवार एक सूचना जारी गर्दै फागुन १ गते बिदा दिएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीद्वारा हस्ताक्षरित सूचनामा बुधवार बसेको बैठकले पालिकाभर बिहीबार बिदा दिने निर्णय गरेको उल्लेख छ । बिदाका दिन नौगाड गाउँपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरू तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिने उल्लेख छ ।

यस्तै रामारोशन गाउँपालिकाले पनि एक सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध सुरु गरिएको दिन भएकाले स्थानीय बिदा दिएको जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी सूचनामा माघ २७ गते बसेको बैठकबाट बिदा दिने निर्णय भएको उल्लेख छ । सूचनामा फागुन १ गते गाउँपालिकाको वडा नम्बर ३ को मुजाबगरमा सहिद परिवार सम्मान तथा वृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौँको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् । सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ । सोही दिनको सम्झनामा यसअघि सरकारले देशभर सार्वजनिक बिदा दिएर पहिलो पटक २०७९ सालमा जनयुद्ध दिवस मनाएको भए पनि सर्वोच्च अदालतले बिदा खारेज गरेको छ । बिदा खारेज गरिएको भए पनि सुदूरपश्चिमका दुई पालिका सहित देशभरका केही पालिकाले आज बिदा दिएका छन् ।

 

Loading...