


धनगढी- गृहमन्त्री रमेश लेखकले संसदमा विचाराधीन अवस्थामा रहेको शिक्षा ऐन चाँडै बन्ने बताएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम समितिको चौथो अधिवेशनको सोमवार धनगढीमा उद्घाटन गर्नु हुँदै उनले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले शिक्षा ऐन आएपछि निजी, संस्थागत, आवासीय विद्यालयको सुरक्षा सरकारले गर्ने बताए। उनले भने, ‘तपाईहरुको लगानी खेर जान दिइन्न। लगानीलाई सुरक्षित गरिन्छ । तपाईहरु पनि राम्रो हुँदै जानुपर्छ । तपाईहरुले आफै सुधार गर्नु भएन भने हस्तक्षेप गर्नुपर्ने ठाउँमा सरकार पुग्छ ।’
नेपालको शिक्षा क्षेत्रमा निजी, आवासीय तथा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान रहेको लेखकको भनाइ थियो । उनले सामुदायिक विद्यालयलाई राम्रो बनाउने र निःशुल्क शिक्षा दिने काम सरकारको रहेको उल्लेख गर्दै संस्थागत, निजी र आवासीय विद्यालयका कारण सामुदायिक विद्यालयको स्तर नघटेको बताए ।
उनले भने, ‘त्यसैले दुईटै किसिमको विद्यालयलाई जुधाउनुको कुनै औचित्य छैन । प्रतिस्पर्धा गराउने आवश्यकता पनि छैन ।’ शिक्षामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै गृहमन्त्रीले यसको संरक्षण गर्ने कुरामा सरकार स्पष्ट रहेको बताए ।
उहाँले कमीकमजोरी सबै क्षेत्रमा रहेको उल्लेख गर्नुहुँदै भएका विकृति विसंगतिलाई ठीक गर्नुपर्ने औंल्याए । ‘तपाईहरु आफू पनि अनुशासित हुनुपर्छ । सरकारले पनि तद्अनुरुप अनुगमन, विश्लेषण गर्नुपर्छ’, उनले भने, ‘तर मार्न पाइदैन । त्यसले राम्रो गर्दैन ।’
उनले निजी, आवासीय विद्यालयमा भएको लगानीले शिक्षाको गुणस्तर वृद्धि गरेको बताए । शिक्षाको गुणस्तर वृद्धिले हाम्रो जनशक्ति अन्तर्राष्ट्रिय जनशक्तिसँग प्रतिस्पर्धा गर्न तयार भएको लेखकको भनाइ छ । गृहमन्त्री लेखकले शिक्षा क्षेत्रमा मुलुक धेरै अगाडि बढेको बताए । एक छुट्टै प्रसङ्गमा उहाँले सरकारले नीतिगत र कानुनी सुधारमा प्राथमिकता दिएको बताए । त्यसैगरी, सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले निजी विद्यालयले विद्यार्थी जनशक्ति र पुँजी पलायन रोक्ने काम गरेको बताए ।

