अनुदानले उत्साहित पशुपालक किसान




अत्तरिया, ३२ साउन– कैलालीको जानकी गाउँपालिकाका पशुपालक किसान व्यवसाय बढाउन अनुदान पाएपछि उत्साहित भएका छन् । पशुपालनलाई व्यवसायका रूपमा अघि बढाउन प्रयास गरिरहेका किसान अनुदान सहयोग पाएपछि थप उत्साहित भएका हुन् ।


किसानलाई व्यवसायमा आत्मनिर्भर बनाउन पालिकाले अनुदान सहयोग गरेको हो । गाउँपालिकाको पशु सेवा शाखाले आर्थिक वर्ष ०७७/७८ मा किसानलाई मासु र दूध तथा अण्डामा आत्मनिर्भर बनाउन अनुदानका कार्यक्रम ल्याएको थियो । यसका साथै पशुपालनतर्फ क्षमता विकासका कार्यक्रम, नश्लसुधार कार्यक्रम र वितरणका कार्यक्रमसमेत सञ्चालन गरेकाले किसानलाई व्यवसायमा सहयोग पुगेको छ ।



पशुपालक किसान गाउँपालिकाबाट पाएको अनुदानले आफ्नो व्यवसायमा सहयोग पुगेको बताउँछन् । जानकी–१ धर्मापुरका ओमप्रकाश चौधरीले दुई वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका छन् ।
व्यावसाययिक फार्म दर्ता गरी व्यवसाय सुरु गरेका चौधरीले बाख्रा र हाँस पालेका छन् । सात वटा बाख्राबाट व्यवसाय सुरु गरेका चौधरीसँग हाल २५ बाख्रा र २५ हाँस पुगेका छन् । जानकी–९ मूर्तियाका प्रकाश विकले पनि तीन वर्षदेखि बाख्रापालन गरिरहनुभएको छ । तीन वर्षअघि पे्रम अमृता बाख्रापालन फार्म दर्ता गरी १७ वटा बाख्राबाट व्यवसाय सुरु गरेका विकसँग हाल ५६ बाख्रा छन् ।
तीमध्ये उनीसँग २८ वटा उन्नत जातका बाख्रा छन् भने ३२ वटा स्थानीय जातका बाख्रा छन् । व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका विकले पनि गाउँपालिकाबाट दाना बनाउने र घाँस काट्ने मेसिन, बाख्राको औषधि, घाँसको बिउ, पशु प्राविधिको निःशुल्क सहयोग पाइरहेका छन् ।



