कान्द्रा नदीमा आएको बाढीले हुलाकी सडक बगायो




धनगढी, ३१ साउन- कैलालीको कान्द्रा नदीमा आएको बाढीले हुलाकी सडक बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले भजनी नगरपालिका वडा नं.५ लालबोझीस्थित हुलाकी सडकमा क्षति पुर्याएको हुलाकी सडक योजना कार्यालय धनगढीले जनाएको छ ।



हुलाकी सडक योजना कार्यालयका इन्जिनियर पदमबहादुर मडैका अनुसार लालबोझीमा एक सय मिटर सडक बाढीले बगाएको छ । हुलाकी सडक अन्तर्गत धनगढी-टीकापुर खण्डमा पर्ने उक्त सडकमा नदी कटानकै जोखिमका कारण कालोपत्रे नगरिएको उनले बताए । नदीमा तटबन्ध नगरिएका कारण बाढीले उक्त सडक बगाएको हो ।


बाढीले सडक बगाएपछि स्थानीयवासीलाई आवतजावत गर्न समस्या उत्पन्न भएको छ । उनीहरु खेतको बाटो प्रयोग गरी आवतजावत गर्न थालेका छन् । हुलाकी सडक योजना कार्यालयले धनगढीको मोहनापुलदेखि टीकापुरसम्मको मुख्य हुलाकी सडकको ६८ किलोमिटरमध्ये लालबोझीस्थित कान्द्रा नदी क्षेत्रको पाँच सय मिटर र वसन्ता करिडोरको दुई किलोमिटर सडक कालोपत्रे गरेको छैन ।
कान्द्रा नदीमा तटबन्ध गरेर मात्र कालोपत्रे गर्ने योजना रहेको छ भने वसन्ता करिडोरमा वन क्षेत्रको अवरोध हटाएर कालोपत्रे गरिने योजना रहेको कार्यालयको भनाइ छ ।



