नवजिवन सहकारीद्वारा मजगाउँ खाद्य गोदाम परिसरमा वृक्षारोपण

धनगढी- धनगढीमा मुख्य कार्यालय रहेको नवजिवन सहकारी संस्थाले वृक्षारोपण गरेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँ मिल तथा खाद्य गोदाम परिसरमा सहकारीले वृक्षारोपण गरेको हो । शनिबार बिहानै सहकारीको सञ्चालक समिति तथा कर्मचारीहरू वृक्षारोपण गर्न मजगाउँ पुगेका हुन् ।

ढेड बिगाह जमिनमा स्थापना भएको खाद्य गोदाममा कृषी उपज संकलन कार्य शुरु गरेको नवजिवनले भण्डारीकरण, प्रसोधन एवं बजारिकरण सहित सोही जमिनमा कुटानी, पिसानी र पेलानी उधोग सञ्चालन प्रक्रिया अगाडी बढाउने कार्य अन्तर्गत वृक्षारोपण गरिएको हो ।

संस्थाका सञ्चालक समिति उपाध्यक्ष चेतराज ओझाले खाद्य गोदाम परिसरमा गरिएको बृक्षारोपणले यहाँको वातावरण समेत स्वच्छ हुने अपेक्षा लिएका छन् । रूख रोपे मात्रै मानव जीवन सहज बन्ने बताएका उनले खाद्य गोदामको धुलो बस्तीमा जानबाट रोक्न बाँसका बोट पनि रोपेको जानकारी दिए ।

संस्थाका सञ्चालक समिति सदस्य गोपाल पाठकले बासँ, तेजपत्ता, दाल्चिनी, अमला, आप, अम्बा, कागती लगायतका बिरुवा रोपिएको बताए । संस्थाले कृषि उपजहरुलाई उपभोग्य बस्तुको रुपमा आफ्नै ब्राण्डिङ गरी सदस्यहरूलाई सुलभ मूल्यमा बिक्री गर्न कुटानी, पिसानी तथा पेलानी उधोग फर्म दर्ता गरिसकेको छ । मजगाउँमा मिलघर निर्माण गरी मेसिनहरू खरिद प्रक्रिया शुरु गरेको छ ।

Loading...