हरिश चन्द/डडेल्धुरा ३० साउन । डडेल्धुराको आलिताल गाउँपालिकामा निर्माण सुरु भएको शीत भण्डार प्रयोग नहुँदै बिग्रन थालेको छ । आलिताल गाउँपालिकाको कार्यालयको मुख्य प्रवेशद्धार मै निर्माण सुरु भएको किसानले उत्पादन गरेका कृषि उत्पादनलाई राख्नका लागि शीत भण्डार गृह निर्माण भए पनि प्रयोगमा नआउँदै बिग्रिन लागेको हो ।
आलु तथा तरकारी भण्डारणका लागी २० मेट्रिक टनको प्रि कुलिंग च्याम्बर कोल्ड स्टोर निर्माणका लागी २०७८ बैशाख ७ गते गते बर्दियाको निर्माण कम्पनी पुरशोत्तम कन्ट्रक्सनले लिएको थियो । २०७८ असार ४ गते काम सक्ने सम्झौता भए पनि निर्धारित समयमा काम नसकेर निर्माण कम्पनी सम्पर्क विहीन रहेको गाउँपालिकाको अध्यक्ष शेर सिह पार्कीले जानकारी दिनु भयो ।
ठेकेदार स्मृति सुन्दर शर्मा लाई विभिन्न समयमा सम्पर्क गर्दा सम्पर्क नआउने तर अहिले सम्म शीत भण्डार प्रयोगमा नआउँदै बिग्रिन लागेको स्थानीयले जानकारी दिएका छन् । ५६ लाख ८ हजार २५४ रुपैयाँको लागत ईस्टिमेट रहेको उक्त काम पुरशोत्तम कन्ट्रक्सन ले ५३ लाख १४ हजार १२३ रुपैयाँमा कबोल गरेको थियो । २०७८ सालमा काम नसके पछि चैत्र मसान्त सम्म म्याद थप गरिएको थियो ।
उक्त शीत भण्डारले हाल सम्म पनि पूर्णता नपाउँदा आलितालका किसानले उत्पादन गरेको आलु जिल्लाको भत्काडामा रहेको कोल्ड स्टोरमा पुर्याउनु पर्ने बाध्यता खेपिरहेका छन् । भत्काडा दुरीको हिसाबले टाढा भएकोले आफुहरुलाई ढुवानीमा लागत बढी लाग्ने गरेको किसान बताउँछन् ।