

बैतडी, १७ साउन- बैतडीमा आजबाट भेरोसेल खोप लगाइँदै छ । आइतबारबाट ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको हो ।



त्यसैगरी विद्यालय तथा कलेजकाका शिक्षक, प्राध्यापक, कर्मचारी, सवारी साधनका चालक र सहचालकहरुलाई पनि खोप लगाइने भएको छ । जिल्लाका पाटन नगरपालिका, डिलाशैनी र दोगडाकेदार गाउँपालिकामा आज र भोलि खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताए ।


त्यसैगरी १९ र २० गते सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा, २० र २१ गते पञ्चेश्वर, शिवनाथ, सुर्नया गाउँपालिकामा, मेलौली र दशरथचन्द नगरपालिकामा खोप लगाइने बताइएको छ ।
खोपको पहिलो मात्रा लगाएकालाई २८ दिनभित्र दोस्रो मात्रा दिनुपर्ने भएकाले सो मात्रा मौज्दात राखी खोप लगाइन लागेको जनाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार बैतडीमा १८ हजार डोज खोप आइसकेको छ ।





