माया मेट्रो अस्पतालले अक्सिजन प्लान्ट भित्र्याएसँगै एक साता भित्रै जडान गरिसक्ने




धनगढी, ११ साउन- माया मेट्रो अस्पताल धनगढीले आफ्नो लगानीमा भारतबाट अक्सिजन प्लान्ट भित्र्याएसँगै अबको एक साता भित्रै जडान गरिसक्ने जनाएको छ । अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले एक हप्ता भित्र अक्सिजन प्लान्ट जडान गरिसक्ने बताएका छन् ।



माया मेट्रो अस्पतालको उक्त प्लान्ट सञ्चालनमा आएपछि आफ्नै अक्सिजन प्लान्ट भएको सुदूरपश्चिमको पहिलो निजी अस्पताल हुने भएको छ । अस्पतालका अध्यक्ष साउँदले अक्सिजन प्लान्टको क्षमता प्रतिदिन ४५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने भएको जनाएका छन् । उनले सम्पूणर् शैयाहरुमा पाईपलाईनबाट अक्सिजन आपूर्ति गरिने समेत बताए ।
अक्सिजनको अभावमा कोरोनाको दोस्रो लहरमा धनगढीमै करीव तीन सय जनाको मृत्यु भएको थियो ।


तेस्रो लहरमा अक्सिजनको अभाव वा कमिले कसैले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले अस्पतालले आफ्नै लगानीमा अक्सिजन प्लान्ट जडान गर्न लागेको अध्यक्ष साउँदले बताए ।
सुदूरपश्चिममा निजी अस्पतालमा पहिलो पटक यो सुविधा दिन लागिएको हो । झण्डै ७५ लाखको लगानीमा अक्सिजन प्लान्ट जडान भइरहेको उक्त प्लान्टले दैनिक ४५ सिलिण्डर उत्पादनको क्षमता रहेको अध्यक्ष साउँदले बताए । प्लान्ट जडान भएपछि उपचारमा निकै सहज हुने अस्पतालले जनाएको छ ।



