गोदावरमा दुईओटा विद्यालयको भवन शिलान्यास





अत्तरिया- गोदावरी नगरपालिकाभित्र दुईवटा विद्यालय भवनको एकैदिन शिलान्यास गरिएको छ । गोदावरी नगरपालिका-८ जोनापुरमा रहेको शिद्धबाबा आधारभुत विद्यालयको चार कोठे पक्की भवन निर्माण र गोदावरी नगरपालिका-१ मा रहेको घण्टेश्वर माध्यामिक विद्यालयमा पनि चार कोठे भवन निर्माणका लागि शिलान्यास गरिएको हो।



दुवै विद्यालयमा निर्माण हुने भवनको गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउँदले शनिवार एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन् । २०५२ सालमा स्थापना सिद्धबाबा आधारभुत विद्यालय जोनापुरमा चार कोठे पक्की भवन निर्माणका लागि संघीय सरकारको ३६ लाख अनुदान, गोदावरी नगरपालिकाको १० लाख र ६ लाख बरावरको जनश्रमदानबाट सुविधासम्पन्न विद्यालय भवन निर्माण गरिन लागेको नगरप्रमुख साउँदले बताए ।


त्यस्तै अत्तरियामा रहेको घण्टेश्वर माविको चार कोठे पक्की भवन निर्माणका लागि पनि संघीय सरकारको ३६ लाख, गोदावरी नगरपालिकाबाट १० लाख तथा जनश्रमदानबाट ४ लाख गरेर विद्यालय भवन निर्माणका लागि आवश्यक तयारी अघि बढाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महादेव भट्टले बताए । भवन अभावका कारण विद्यार्थीहरुलाई अध्ययन गर्न समस्या भइरहेको अवस्थामा संघीय र नगरपालिकाले अनुदानवाफत रकम उपलब्ध गराएर सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समितिले धन्यवाद समेत व्यक्त गरेका छन् ।



