धनगढी- बझाङ प्रदेशसभा–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले शनिबार उम्मेदवारी दर्ता गराएका छन् । उपनिर्वाचनका लागि शनिबार बिहान १० देखि साँझ ५ बजे सम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिनु पर्ने नियमानुसार १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।


जस अनुसार नेकपा एकीकृत समाजवादीको तर्फबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन् । बाजागाजा र जुलुससहित सिंह उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । त्यसपछि नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएको थियो । नेपाली कांग्रेसबाट अभिषेक बहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन् । सवारी दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री एवं प्रदेश सभा सदस्य स्व पृथ्वीबहादुर सिंहका जेठा छोरा अभिषेक हुन् ।
अभिषेक नारा जुलुससहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता लिएर उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । यस पछि राप्रपाको उम्मेदवारी दर्ता गराएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट किशोर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । उनी नेता तथा कार्यकर्ता लिएर उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । लामो समयदेखि पर्यटन व्यवसायमा लागेका खड्कालाई उम्मेदवार बनाइएको राप्रपा बझाङका अध्यक्ष वीरेन्द्र बहादुर मल्लले बताए । खड्का पूर्व पत्रकार समेत हुन् ।

यस्तै प्रदेशसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट दमन भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका स्थायी समिति सदस्य कर्ण बहादुर थापा, पोलिटब्युरो सदस्य एवं सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, सुदूरपश्चिम प्रदेशका पूर्वसभामुख अर्जुन थापा, पूर्वराज्यमन्त्री आशा विक, संविधानसभा सदस्य अफिलाल ओखेडा, केन्द्रीय सदस्य ऐन महर सहित नेता कार्यकताको जुलुस लिएर उनी उम्मेदवारी दर्ता स्थल पुगेका थिए ।
प्रदेशसभाको उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) का जनक बुढाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो ४ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् । नारा जुलस सहित माओवादी केन्द्रका नेता, कार्यकर्ता उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
इलाममा माओवादीले नेकपा एमालेका उम्मेदवारलाई सघाए बापत बझाङमा आफ्नो उम्मेदवारलाई एमालेले सघाउनु पर्ने माग माओवादीले गर्दै आएको छ । यस्तै राष्ट्रिय मातृभूमी पार्टीबाट विनोद बहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तीमगर, जनता समाजवादी पार्टीबाट राम बहादुर जाग्रीको उम्मेदवारी परेको छ । नेपाल जनता दलबाट अशोक सुनार, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खड्का र जनमत पार्टीबाट शुसीला देबी विष्टको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
नेपाली काँग्रेस बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहको दुर्घटनामा निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन गर्दैछ । बैशाख १५ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता गरिएको हो । उपनिर्वाचनका लागि बझाङमा १२ सय सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । आइतबार उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने कार्य तालिका छ । बझाङमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ ।