गर्मी मौसम सुरुसँगै त्रासमा सुकुम्बासी बस्ती

कैलाली- कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरकी शारदा विश्वकर्मालाई गर्मी मौसम सुरु भएसँगै चिन्ताका दिन सुरु भएको महसुस हुन्छ। शिविरमा बस्दै आएकी शारदालाई शिविरमा सुकेका ठूला रूख कतिबेला घरको छानामाथि खसेर ज्यान जाने हो भन्ने त्रासले १७ वर्षदेखि पिरोल्दै आएको छ ।

वर्षौँदेखि सुकेका रूख कतिबेला भुइँमा खस्छन् भन्ने ठेगान हुँदैन ।‘गर्मी मौसममा हावाहुरीले रूख ढल्दा ज्यान गएका घटना आँखा अगाडि ताजै छन्, त्यो घटनाबाट बर्सेनि त्रासमा जीवन बिताउनुपर्ने बाध्यता हाम्रा अगाडि छ’, उनी भन्छिन्, ‘गर्मी मौसम सुरु भएदेखि वर्षायाम नसकिँदासम्म हाम्रा दुःखका दिन समाप्त हुँदैनन् ।’ वर्षौ देखि पुनःस्थापनाको पर्खाइमा बसेकी शारदा जस्ता सयौँ परिवार आज पनि त्यसैको पर्खाइमा रहेका छन् ।

Navadurga sun
Godawari sandesh

टीकापुर बहुमुखी क्याम्पसको जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका सुकुम्बासी आज पनि आफूहरूको पुनःस्थापन हुन्छ भन्ने आशामा छन् ।टीकापुर नगर विकास समितिको मातहतमा रहँदा सो क्षेत्र जङ्गल थियो । क्याम्पसको नाममा हस्तान्तरण भएको केही समयमै तीन सय बिघा जग्गा अतिक्रमणमा परेपछि बर्सेनि स्थानीयले रुखको फेदका बोक्रा निकालेर रूख सुकाउने काम गरेका कारण आज उजाड बनिसकेको छ ।शिविर बस्तीमा सुकेका रूख छन् । शिविरमा हरिया रूख नभए पनि सुकेका रूख कतिबेला ढल्ने हुन् भन्ने पत्तो हुँदैन । गर्मी मौसममा आउने हावाहुरीले त्यसरी सुकेका रूख ढल्ने र घरमुनि खसेर यसभन्दा अगाडि कैयौँ धनजनको क्षति भइसकेको छ ।

सोही शिविरमा १६ वर्ष बिताएकी विन्दु परियारको पीडा पनि शारदाको भन्दा फरक छैन । ‘हावाहुरी आउँदा घर बाहिर भाग्नुपर्ने स्थिति छ, दिनमा घर बाहिर भागे पनि रातिको समयमा कता भाग्ने रु’, विन्दु भन्छिन्, ‘अन्त कतै जाउ भने जाने ठाउँ छैन, यतै बस्दा ज्यान जोगाउन मुस्किल छ ।’ सरकारले आफूहरूको व्यवस्थापनका लागि ध्यान नदिँदा पीडामा जीवन बिताउनुपर्ने बाध्यता आफ्ना अगाडि रहेको उनको बुझाइ छ । एकतापुर शिविरमा बसोबास गर्दै आएका रामेश्वर चौधरीका अगाडि २०७६ मा हावाहुरीका कारण रूख घर माथि ढल्दा एक जनाको ज्यान गयो । रातिको समयमा आएको हावाहुरीले लाखौँको धनमाल नष्ट गर्यो । आँखा अगाडि भएको त्यो घटना रामेश्वरका लागि ताजै लाग्छ ।

Dadeldhura hospital

ज्यानलाई हत्केला राखेर मृत्युसँग लडेर बाध्यताको बसाइँ बस्नुपरेको उनको भनाइ छ । ‘सुनाउन धेरै थियो, सुनिदिने हाम्रो कोही छैन, हामी सुकुम्बासीलाई अझै सुकुम्बासी बनाउन कैयौँ लागिपरेका छन्’, उनी दुखेसो पोख्दै भन्छन्, ‘प्राकृतिक विपत्तिले दिने दुःखमात्रै होइन, मानिसहरूले गर्ने व्यवहारबाट पनि हामी निकै प्रताडित छौँ ।’शिविरमा अधिकांश घर माटोले निर्माण भएका छन् । माटो र काँचो इँटा प्रयोग भएका घरका लागि हावाहुरी मात्रै नभई वर्षातको बाढी र डुबान पनि अर्को दुःख बनेर बसेको छ । डुबान हुँदा अधिकांश घर डुबानमा पर्छन् । घर डुबानमा मात्रै नभइ अधिकांश घर भत्किन्छन् ।

‘हिउँदमा घर निर्माण गर्दा एक बर्खा टिक्छ कि टिक्दैन भन्ने चिन्ता हुन्छ, अर्कोतिर किरा फट्याङ्ग्राको त्रास त्यस्तै हुन्छ’, स्थानीय रेशम चौधरी भन्छन्, ‘कहिले सरकारले हाम्रो व्यवस्थापन गर्ला भनेर कुरेर बसेको दशक हुँदा पनि हाम्रो व्यवस्थापन अझै हुन सकेको छैन ।’उनले आज पनि राज्यले सुकुम्बासीलाई जग्गाको मालिक बनाउने आशा जीवित रहेको बताए । त्यतिमात्र होइन शिविरमा स्वच्छ खानेपानी छैन । स्वच्छ खानेपानीको उपलब्धता नहुँदा पनि अबका दिनमा विभिन्न सङ्क्रामक रोग फैलिन सक्ने जोखिम बढ्दै जाने स्थानीय बताउँछन् ।

वर्षौं देखि जग्गा पाउने आशामा बसेका सुकुम्बासीले राष्ट्रिय भूमि आयोगको फाराम पनि भरेका छन् । फाराम भरेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको फाराम भरेका उनीहरूले जग्गाको निस्सा समेत प्राप्त गरिसकेका छन् । उनीहरूले बसोबास गरिरहेको जग्गा पाउनुपर्ने माग पनि गर्दै आएका छन् ।

उक्त जग्गा क्याम्पसको नाममा भएका कारण सो बस्तीका नागरिकलाई सोही स्थानमा व्यवस्थापन गर्न चुनौती छ । ‘दशक लामो समयदेखि यहीँ जग्गामा हामीले सुखदुःख नभनेर बेथित सहेका छौँ, कैयौँ आफन्तलाई कैयौँ प्राकृतिक विपत्तिमा गुमाउनुकाे पीडा हामीसँग छ’, स्थानीय डम्बर विश्वकर्मा भन्छन्, ‘हामी यसै ठाउँमा बस्छौँ, सरकारले बसेको स्थानलाई आधार बनाएर लालपुर्जा दिनुपर्छ ।’

नगरपालिकाको वडा नं १ ले वडाबाट भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको हकमा गर्नुपर्ने प्रक्रियाको काम गरिसकेको वडाध्यक्ष मोहन बिक बताउँछन् ।‘फाराम भर्नेदेखि निस्सा वितरण सम्मको काम हामीले सकेका छौँ, त्यसपछि जग्गाको नापजाँच गर्ने र उहाँहरूलाई जग्गा उपलब्ध गराउने काममा नगरपालिकाले प्रक्रिया अगाडि बढाउँछ’, उनले भने । सुकुम्बासीले तीन सय बिघा जग्गा अतिक्रम गरेको दाबी गर्दै टीकापुर बहुमुखी क्याम्पसले वडा कार्यालयमा दाबी पेस गरेको छ । रासस

Loading...