महिनावारीका कारण १४ किशोरीसहित महिलाको मृत्यु

अत्तरिया- महिनावारी भएको समयमा अछाममा अहिलेसम्म १४ जना किशोरी तथा महिलाको मृत्यु भइसकेको छ । महिनावारी भएका महिलालाई घरभित्र राख्नुहुँदैन र राखेमा देउता रिसाउँछन् भन्ने गलत मानसिकताका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा अलग्गै छाउगोठमा राख्ने गरिन्छ ।

साँघुरो तथा घरभन्दा टाढा बनाइएको छाउगोठमा निसास्सिएर, बिषालु सर्प, कीराले टोकेर तथा छाउगोठभित्रै बलात्कारमा परेर अहिलेसम्म अछाममा १४ जना महिलाले ज्यान गुमाइसकेका छन् । महिनावारी भएको समयमा महिलालाई छुनुहुँदैन र छोएमा नर्क गइन्छ भन्ने गलत मानसिकताका कारण पनि छाउगोठमै महिलाले अकालमै ज्यान गुमाउनु परिरहेको छ । बोक्सी आरोपमा यातना पाएकी कैलालीको घोडसुवाकी राजकुमारी राना न्यायको पर्खाइमा बस्दाबस्दै २०७१ पुसमा संसार त्यागिन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

२०६९ चैत २३ गते स्थानीयले बोक्सी आरोपमा उनलाई रूखमा हात बाँधेर कपाल मुण्डन गरी दिसा खुवाएर मानसिक तथा शारीरिक यातना दिएका थिए । दोषीलाई कडा करबाही भए आफूले न्यायको महसुस गर्ने उनको सपना उनीसँगै चितामा विलीन भयो । आफ्नै घरमा परिवार, इष्टमित्र, छिमेकी आफन्तकै अगाडि मुण्डन गरी शारीरिक तथा मानसिक यातना पाउँदा विक्षिप्त बनेकी राजकुमारीले चिन्तैचिन्ताले मृत्युवरण गर्नुपर्‍यो । यस्तै २०७४ फागुन २४ गतेका दिन सारा संसार अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको थियो । विभिन्न तारे होटलमा महिला हक अधिकारबारे उच्च स्वरमा बहस हुँदै थिए । सरकारी तथा गैरसरकारी संघसंस्था प्रभातफेरी, नाराजुलुस र गोष्ठी सेमिनारका फोटोहरू सामाजिक सञ्जालमा पोस्टँदै थिए । त्यही समयमा कैलालीकै घोडाघोडी नगरपालिकाकी १८ वर्षीया राधा चौधरी बोक्सी आरोपमा शारीरिक र मानसिक पीडा खेप्दै थिइन् । समाज रमिते थियो । इष्टमित्र, छरछिमेक, आफन्तकै अगाडि उनी कुटिँदै थिइन्। बोक्सी आरोपमा कुटिँदै गर्दा दाजु नातापर्ने तीनजना आफन्तले उद्धार गरे । उनलाई एम्बुलेन्समा राखेर प्रहरीचौकी पुर्‍याइयो । चौकीमै प्रहरीले मिलापत्र गर्नुपर्छ भन्दै उनका बुबाले दिएको उजुरी दर्ता गरेनन् । घटनाको वास्तविकता बुझेका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी पनि रमिते बने । उल्टै उनले पक्राउ परेका दोषीलाई प्रहरी चौकीबाट छुटाए ।

न्याय खोज्दै प्रहरीचौकी पुगेकी राधालाई उल्टै प्रहरीले अन्याय गरिदियो । पीडकका पक्षमा प्रहरी उभिए । राधालाई न्याय पाउनु आकाशको फल भइदियो । बोक्सी आरोपमा समाजसामु कुटिएकी राधालाई न्याय पाउने आशा निराशामा बदलियो । उनको मनमा आँधीहुरी चल्यो। न्याय पाउने आश मर्‍यो । घटनाको तीन वर्षअघि बोक्सीकै आरोपमा कुटिएर न्याय पाउने आशा बोकेकी राजकुमारी झैँ न्यायको लडाइँ लड्दै गर्दा राजकुमारी सेलाइन् । राजकुमारी झैँ न्याय खोज्दाखोज्दै सेलाउने त हैन भन्ने चिन्तामा रहेकी राधालाई अन्ततः सामाजिक संघसंस्था तथा नागरिक अगुवाहरूले धनगढी ल्याइपुर्‍याए । प्रहरीमा उनको मुद्दा दर्ता भयो र अन्ततः राधालाई बोक्सी आरोपमा कुटपिट गर्नेहरूलाई दोषी ठहर गर्दै जेल सजाय सुनायो । यी र यस्तै सामाजिक कुप्रथाका कारण सुदूरपश्चिममा महिला सामाजिक हिंसामा पिल्सिन बाध्य छन् । महिला सामाजिक हिंसाकै कारण मृत्युको मुखमा धकेलिने गरेका छन् ।

सामाजिक कुसंस्कारकै कारण महिला समाजका हरेक गतिविधिमा अगाडि जान नसक्नुका साथै अकालमै मृत्युको मुखमा पुग्न बाध्य हुने गरेको महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको मानवअधिकारका लागि महिला, एकल महिला समूह (डब्लूएचआर) को प्रादेशिक अधिकृत वेद अवस्थी बताउँछिन् । ‘लैंगिक रूपमा पनि देशको अन्य क्षेत्रभन्दा सुदूरपश्चिममा पुरुषसरह महिलाले सामाजिक कार्यक्रममा खुलेर सहभागी हुन पाउँदैनन्,’ उनले भनिन्, ‘जसले गर्दा महिलाले आफ्नो समस्या खुलेर राख्न पाउँदैनन् ।’ सामाजिक परिवन्धका कारण महिनावारी भएका समयमा गोठभित्रै बस्नुपर्ने बाध्यताले धेरैको अकालमै ज्यान पनि जाने गरेको उनले बताइन् । ‘महिनावारी भएको समयमा गोठभित्र बस्दा सर्प, कीरा, बाघ भालुको आक्रमणबाट महिलाको ज्यान गएको तमामौ घटना घटेका छन्,’ उनले भनिन् । सामाजिक कुसंस्कारको अर्को रूप बोक्सी प्रथा पनि तराई क्षेत्रमा बढ्दो छ ।

सामाजिक हिंसाका कारण समाजबाट तिरस्कृत हुनुपर्ने मानसिकताले पीडित महिलाले आत्महत्याको बाटो रोज्ने गरेको तथ्याङ्कले देखाउने गरेको छ । महिलाका प्रगतिका बाधक सामाजिक हिंसा नै प्रमुख कारण रहेको बताउँदै सामाजिक क्षेत्रमा कृयाशील ग्रामिण महिला तथा एकता विकास केन्द्र (रुडुक)की जिल्ला कोषाध्यक्ष प्रमिला लम्सालले भनिन्, ‘तराईमा घरेलु हिंसाका घटनाका साथै बहुविवाह, बलात्कार, यौन हिंसा, मानव बेचबिखन र सामाजिक हिंसा (बोक्सी, छाउपडी) महिला प्रगतिको बाधक हो।’ पितृसत्तात्मक सोँच पनि महिला अगाडि बढ्न नदिने तगारो बनेको बताउँदै उनले भनिन्, ‘बोक्सीको निहुँमा कुटपिटका साथै गाउँ निकाला गरिनु, महिनावारी भएपछि खुला रूपमा सामाजिक कार्यक्रम, मेलापर्व, विद्यालयमा जान नपाउँदा महिला तथा बालिकामा सामाजिक हिंसाको छाप पर्ने गरको छ ।’

Loading...