देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका विभिन्न क्षेत्रमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति पनि देशभर बदली रही विभिन्न क्षेत्रमा वर्षा हुने अनुमान गरिएको छ।
विशेषगरी सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा राति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
