गोदावरी होटल व्यवसायी संघको नवौं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न
पर्यटन विकासका लागि स्तरीय होटल आवश्यक रहेको व्यवसायीहरूको जोड
लक्ष्मी भट्ट/अत्तरिया- गोदावरी होटल व्यवसायी संघ अत्तरिया, कैलालीको नवौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार अत्तरियास्थित नमस्ते पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। तीज विशेष दर खाने कार्यक्रमसमेत आयोजना गरिएको अधिवेशनमा होटल व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण धामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी होटल व्यवसायी संघका केन्द्रीय अध्यक्ष कलमबहादुर बम प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा होटल व्यवसायी नेपालका परमानन्द भट्टराई, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कमल कडायत, होटल व्यवसायी महासंघ नेपालका पर्यटन सचिव भरत भट्टराई, गोदावरी होटल व्यवसायी संघका सल्लाहकार संयोजक डा. डम्बरपाल तथा होटल व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश जोशी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमको सञ्चालन संघका महासचिव रविन्द्र खड्काले गरेका थिए भने उपाध्यक्ष विश्वनादेवी बोहराले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा बोल्दै वक्ताहरूले गोदावरी तथा अत्तरिया क्षेत्रमा पर्यटन विकासका लागि स्तरीय होटल तथा पर्यटन पूर्वाधारको आवश्यकता रहेको बताएका छन्। बाह्य पर्यटकलाई आकर्षित गर्न आधुनिक, सुविधा सम्पन्न र गुणस्तरीय होटलको आवश्यकता बढ्दै गएको उनीहरूको भनाइ थियो।
वक्ताहरूले पर्यटन र होटल व्यवसाय एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै पर्यटनको विकासबिना होटल व्यवसायको विकास पनि अधुरो रहने बताएका थिए।
होटल व्यवसायीहरूले कानुनी तथा आर्थिक रूपमा राहत र सहुलियत पाउनुपर्नेमा समेत उनीहरूले जोड दिएका थिए। व्यवसायीका समस्या समाधान गर्न सबै होटल व्यवसायी एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको वक्ताहरूको भनाइ थियो।
अधिवेशनबाट आउने नयाँ कार्यसमितिले विगतका अनुभव र सिकाइलाई समेट्दै होटल व्यवसायीका समस्या समाधान तथा व्यवसायको प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा समेत जोड दिइएको छ।
कार्यक्रममा होटल व्यवसायीहरूको हकहित, व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या, पर्यटन प्रवर्द्धन तथा अत्तरिया–गोदावरी क्षेत्रमा होटल व्यवसायको सम्भावनालगायत विषयमा समेत छलफल गरिएको थियो।
अधिवेशनसँगै आयोजित तीज विशेष दर खाने कार्यक्रमले कार्यक्रममा थप उत्साह र उल्लास थपेको थियो।
