भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा चीनको ग्वाङ्झाउमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।
चीनमा रहेका नेपाली समुदाय तथा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा फिन्नी चाइनाको आयोजनामा ग्वाङ्झाउस्थित लिटल पापा, झुजियाङ न्यु टाउनमा शुक्रबार दीप प्रज्वलन कार्यक्रम गरिएको हो।

कार्यक्रममा चीनका लागि नेपाली महावाणिज्य दूतावास, ग्वाङ्झाउका महावाणिज्यदूत भरत खनाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा महावाणिज्य दूतावासका पदाधिकारी, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका प्रतिनिधि, एनआरएनए एनसीसी चीनका अध्यक्ष मुकुन्द ढकाल, फिन्नी चाइनाका अध्यक्ष दिलबहादुर कठायतलगायत नेपाली समुदायका अगुवा तथा प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रमको सुरुवात भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणबाट गरिएको थियो। त्यसपछि प्रमुख अतिथि, विशिष्ट अतिथि तथा आयोजक संस्थाका प्रतिनिधिहरूले दीप प्रज्वलन गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रममा बोल्दै महावाणिज्यदूत भरत खनाललगायत वक्ताहरूले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे। उनीहरूले विपत्तिको समयमा नेपाली समुदायबीच आपसी एकता, सहयोग र मानवीय भावना अझ बलियो बनाउनुपर्नेमा जोड दिए।
फिन्नी चाइनाका अध्यक्ष दिलबहादुर कठायतले दुःखको घडीमा नेपाली समुदाय एकजुट भएर पीडित परिवारको साथमा उभिनुपर्ने बताए। उनले सामाजिक उत्तरदायित्व र सहकार्यका माध्यमबाट विपत्तिमा परेका परिवारलाई थप सहयोग गर्न सकिने धारणा राखे।
त्यस्तै, एनआरएनए एनसीसी चीनका अध्यक्ष मुकुन्द ढकालले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरे।
कार्यक्रम सञ्चालन गर्दै फिन्नी चाइनाका महासचिव दुर्गाप्रसाद अम्गाईले दीप प्रज्वलन दुःखमा रहेका परिवारप्रति नेपाली समुदायको साथ, सहानुभूति, एकता र मानवताको प्रतीक भएको बताए।
उनले भने, ‘आजको यो दीप प्रज्वलन केवल श्रद्धाञ्जलीको कार्यक्रम मात्र होइन, यो दुःखमा रहेका परिवारहरूप्रति हाम्रो साथ, सहानुभूति, एकता र मानवताको प्रतीक हो।’
कार्यक्रममा सहभागीहरूले भोटेकोशी बाढीमा ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य, शक्ति र साहस प्राप्त होस् भन्ने कामना गरेका थिए।
चीनमा रहेका नेपाली समुदायले प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नेपालीहरूको सम्झनामा आयोजना गरेको यस कार्यक्रमले दुःखको घडीमा प्रवासमा रहेका नेपालीहरूबीचको एकता, सहकार्य र मानवीय संवेदनालाई समेत उजागर गरेको छ।
