भदौ १० गते आएको विनाशकारी भोटेकोशी–त्रिशूली बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको छ। बाढीपछि विभिन्न बीमा कम्पनीमा २५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक बीमा दाबी परेको छ।
कुल ५८३ वटा बीमालेखबाट परेको दाबीमध्ये करिब ८० प्रतिशत इन्जिनियरिङ तथा ठेकदार जोखिम बीमासँग सम्बन्धित छ। जलविद्युत् आयोजना, सडक, भवन तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

सरकारले प्रभावित बीमितलाई प्रारम्भिक मूल्याङ्कनका आधारमा ५० प्रतिशतसम्म अग्रिम बीमा दाबी भुक्तानी गर्ने व्यवस्था गरेको छ।
बीमा क्षेत्रका अधिकारीहरूले नेपाली बीमा कम्पनीहरूले ठूलो हिस्सा जोखिम पुनर्बीमा कम्पनीमा हस्तान्तरण गर्ने भएकाले अर्बौंको दाबीबाट कम्पनीहरूमा तत्काल ठूलो वित्तीय दबाब नपर्ने बताएका छन्।
तर, विगतका विपद्मा दाबी र वास्तविक भुक्तानीबीच ठूलो अन्तर देखिएकाले पीडितले बीमा रकम छिटो पाउने व्यवस्था व्यवहारमै प्रभावकारी हुन्छ कि हुँदैन भन्ने मुख्य चुनौती बनेको छ।
