धनगढी- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट गठबन्धन दलले उम्मेदवार टुङ्गो लगाएसँगै उमेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गठबन्धन तर्फ काँग्रेस कैलालीका सभापती समेत रहेका नारायणदत्त भट्ट र कञ्चनपुरका पूर्व सभापति बलदेव बोहरा,नेकपा माओवादी केन्द्र (महिला) बैतडीकी रेणु चन्दलाई उमेदवार बनाएको हो । गठबन्धनबाट उम्मेवार बनाएसँगै आज सोमबार धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । भट्ट २०६२/६३ सालको जनआन्दोलनमा घाईते भएका थिए ।
बोहरा कञ्चनपुर जिल्ला विकास समितिका सभापति, २०६४ सालमा संविधान सभा सदस्य हुन र यस्तै माओवादी केन्द्रकी चन्द पुर्व संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य हुन । माघ ११ गते बिहीवारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार हिजो (आइतबार) सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको थियो ।
सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता संख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम भएका छन् ।