धनगढी- नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका राष्ट्रियसभाका लागि तीन जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।
प्रदेश कमिटिले गरेको सिफारिसका आधारमा केन्द्रीय सचिवालय बैठकले तीन जना उम्मेदवारको नाम टुंगो लगाएको एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्ण प्रसाद जैशीले जानकारी दिए ।
उनका अनुसार खुल्ला तथा अन्यतर्फ कञ्चनपुरका ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे र आपांगता तर्फ कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार बनाउने निणर्य भएको छ । प्रदेश कमिटिले जिल्लाबाट आएका आकांक्षीहरुका नाम मध्येबाट ९ जनाको नाम रायसहित केन्द्रीय कमिटिलाई सिफारिस गरेको थियो ।
केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटिले गरेको सिफारिस मध्येबाट तीन जनाको नाम टुंगो लगाएको हो । राष्ट्रियसभा सदस्यमा निर्वाचित सुदूरपश्चिम प्रदेशका तीन जनाको कार्यकाल अगामी २० फागुनमा सकिदैछ ।
रिक्त हुने सिटका लागि एक महिना अगाडि निर्वाचन गर्नुपर्ने कानुनी प्रावधानअनुसार निर्वाचन आयोगले माघ ११ गते निर्वाचन गर्दैछ । त्यसका लागि सोमबार उम्मेदवारको मनोनयनको समय तोकिएको छ ।
राष्ट्रिय सभामा स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष र प्रदेश सभाका सांसद मतदाता हुन्छन् । स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ र प्रदेशभाका सांसदको मतभार ५३ कायम गरिएको छ । सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको मतभार ३ हजार ३ सय ४४ र ५२ (एउटा सिट रिक्त बाहेक) प्रदेशसभा सदस्यको मतभार २ हजार ७ सय ५६ गरेर कुल मतभार ६ हजार १ सय रहेको छ ।
जसमा नेपाली कांग्रेसको मतभार २ हजार ५ सय ८८, नेकपा एमालेको मतभार १ हजार ४ सय ८०, नेकपा माओवादी केन्द्रको मतभार १ हजार ५८, नागरिक उन्मुक्ति पार्टीको मतभार ५ सय ४, नेकपा एकीकृत समाजवादी पार्टीको मतभार ३ सय ७, स्वतन्त्रको मतभार १ सय १० र राप्रपाको मतभार ५३ रहेको छ । यहाँ सत्तारुढ गठबन्धन सँग मात्र कुल मतभार ७३ प्रतिशत अथात ४ हजार ४ सय ५७ रहेको छ ।