गोदावरी नगरपालिका भित्र पनि बाघको आतंङ्क
बाघले किसानका ६ बाख्रा खायो





अत्तरिया- कैलालीको गोदावरी नगरपालिका भित्र बाघको आतंङ्क बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्ला भरि नै आतंङ्क मच्चाइरहेको पाटे बाघले गोदावरी नगरपालिका भित्र पनि आतंङ्क मच्चाउन थालेको नगरबासीहरुले बताएका छन्।



शुक्रवार गोदावरी नगरपालिका १ को मनेहरा र चैतन्यपुर क्षेत्रमा गोठ मै पसेर तीन वटा बाख्रा खाएको बाघले फेरि वडा नं ४ मा पनि किसानहरुका ६ वटा बाख्रा खाएको छ । वडा नं ४ का स्थानियका भनाइ अनुसार खैराना नजिकैको मोटेसाल भन्ने ठाउँमा जंगलमा चराउन लगेका बाख्रामाथि बाघले आक्रमण गरेर केही बाख्रालाई पुरै खाएको छ भने केही बाख्रालाई मारेर गएको छ ।


स्थानिय चन्द्र बहादुर नेपालीका २ वटा बाख्रा , खुसीराम चौधरीका २ वटा बाख्रा र अन्यका २ वटा गरेर ६ वटा बाख्राहरु खाएको उनले बताए । जंलगमा चराउन लगेका बाख्रामाथि बाघले आक्रमण गरेपछि गोठाला गएकाहरु भागेर गाउँतिर आएका थिए । निकै ठूलो नरभंक्षी बघिनी गाउँ र जंगलवरपर घुम्न थालेको भन्दै स्थानियहरु निकै त्रसित भएका छन् ।
अहिले कसैले पनि आफ्ना गाई बाख्राहरु जंगलमा नलगेको र बाघले कति बेला मान्छेको ज्यान लिन्छ भन्ने डर र त्रास पैदा भएको स्थानिय अबस्थीले बताए ।जंगलतर्फ आवतजावत गर्दा पनि बिषेश सर्तकता अपनाउन अनुरोध गर्दै उनले यस तर्फ सम्बन्धित निकायले ध्यान दिएर सुरक्षा ब्यबस्था गर्न माग समेत गरेका छन् ।



