दशैंको अवधिमा ४१४ पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर– विश्वमै दुर्लभ बाह्रसिङ्गेको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दसैँ तिहार लगायतका चाडपर्वमा अवलोकन भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

हरेक वर्ष वर्षाका केही महिना बन्द रहने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कात्तिक महिना सुरु भए सँगै आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका निमित्त कार्यालय प्रमुख प्रमोद यादवले कार्तिक महिनाको १२ गते आइतबार सम्म मात्रै शुक्लाफाँटामा ४ सय १४ पर्यटकले अवलोकन भ्रमण गरेको जानकारी दिए ।

Navadurga sun

‘यो महिनाको हाल सम्म ३५ जीप सफारी भित्र भएको देखिन्छ,’ यादवले भने, ’कार्तिक महिना सुरु भएसँगै पर्यटक आउने क्रम बढ्दै गएको छ।’ शुक्लाफाँटामा वन्यजन्तु हेर्न फागुन देखि जेठ सम्म उपयुक्त समय भए पनि यहाँ असोज देखि नै पर्यटक आगमन सुरु हुन्छ । ३ सय ४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा २ हजार ३ सय भन्दा बढी बाह्रसिङ्गे, ३६ वटा पाटे बाघ, १७ भन्दा बढी गैँडा, ४ सय ५० प्रजाति भन्दा बढीका चराचुरुङ्गीको वासस्थान हो । साथै मुलुककै ठूलो घाँसे मैदानमा देखिने बाह्रसिङ्गेको झुण्ड यहाँको प्रमुख आकर्षण हो ।

आइतबारसम्म यहाँ ४ सय १० आन्तरिक र चार विदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । ‘गत असोजमा आन्तरिक तथा बाह्य गरी २८ मात्रै पर्यटक यहाँ घुम्न आएका थिए,’ यादवले भने, ‘प्रायः असोजसम्म पानीले गर्दा फाँट पुग्न बाटोको असहजताले पर्यटक आउन कमै हुन्छ ।’

धनगढी महेन्द्रनगर लगायत घर भई दसैँ-तिहार बनाउन घर बिदा आउने अधिकांश स्थानीय पनि बिदाको सदुपयोग गर्दै शुक्लाफाँटा, झिलमिला ताल, बेदकोट ताल लगायतका पर्यटकीय क्षेत्रमा घुम्न जाने गर्दछन् । दसैँ र तिहारको समयमा आन्तरिक पर्यटकीय गन्तव्यका साथै यहाँबाट गड्डाचौकी नाका हुँदै भारत उत्तरा खण्डको नैनिताल घुम्न जाने संख्या पनि बढी नै हुन्छ ।

त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसितै जोडिएको नेपालको एक मात्र राना थारु सामुदायिक होमस्टेमा पनि पर्यटक आवागमन सुरु भएको छ। होमस्टेका सचिव चेतराम रानाले चाडपर्व सँगै पर्यटक आउने याम सुरु भएको बताए । उनले पर्यटक आउने जाने चहलपहल सुरु भएसँगै होमस्टेको कारोबार पनि वृद्धि हुँदै जाने बताए ।

‘शुक्लाफाँटा, एसियाकै लामो झोलुङ्गे पुलदेखि भाइररोड सम्म यहाँबाट नजिक पर्ने भएकाले होमस्टे पाहुनाका लागि राम्रो गन्तव्य हो,’ रानाले भने, ‘दिनभरि पर्यटकीय क्षेत्र घुमेर बेलुकी होमस्टेमा थारु परिवारको स्वाद लिँदै रात बिताउन पर्यटक आउँछन् ।’ उनले राना थारु होमस्टेमा वार्षिक २ हजार देखि २ हजार ५ सय सम्म पाहुना आउने गरेको बताए । (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...