दोषी ठहर धनगढीका राना डेढ वर्षको कैद सजाय भुक्तान गरेर छुटे





धनगढी- हातहतियार खरखजना मुद्दामा दोषी ठहर भएका धनगढीका सञ्जय राना डेढ वर्षको कैद सजाय भुक्तान गरेर छुटेका छन् । कैलाली जिल्ला अदालतका न्यायाधिस खेमराज भट्टको ईजलासले उनलाई दोषी ठहर गर्दै डेढ बर्षको कैद र १५ हजार जरिवानाको फैसला सुनाएको थियो । कारागार कार्यालयका जेलर महेन्द्रन खड्काले सञ्जयसँगै पक्राउ परेका धनगढीकै रुद्र अधिकारी पनि मंगलबार अदालतले तोकेको सजाय भुक्तान गरेर छुटेको जानकारी दिए ।



कैलाली प्रहरीले डेढ वर्षअघि ठगी धन्दा चलाएको आरोपमा रानासहितका ४ जनालाई पक्राउ गरेर ठगी, सरकारी कागजात किर्ते, हातहतियार खरखजना र संगठीत अपराध गरि ४ मुद्दा चलाएको थियो । जिल्ला अदालत कैलालीका न्यायाधिश खेमराज भट्टको एकल ईजलासले राना र अधिकारीलाई हातहतियार खरखजना बाहेकका अन्य ३ मुद्दामा सफाइ दिएको थियो ।


अन्य दुई जना धनगढी उपमहानगरपालिका-६ का कमलबहादुर बिक र रानाकी साली कल्पना दिवाकोटीलाई भने अदालतले सफाइ दिएको थियो । प्रहरीले उनीहरुको साथबाट चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात बरामद गरेको थियो ।



