कैलाश मानसरोवर प्रवेशद्वार अधुरै

भजनी- नेपाल–भारत सिमानामा पर्ने कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलापारि निर्माण हुन लागेको कैलाश मानसरोवर प्रवेशद्वार दुई वर्षदेखि अधुरै छ । सुदूरपश्चिम प्रदेश सरकारले निर्माण सुरु गरेको प्रवेशद्वारको जगको काम सम्पन्न भए पनि त्यसबाहेकको काम हुन नसको छैन ।

कोरोना महामारीमा आर्थिक वर्ष २०७६/७७ मा प्रवेशद्वार निर्माणका लागि मन्त्रालयले रु ५० लाख विनियोजन गरेको थियो । करिब रु एक करोड ५० लाखको लागतमा निर्माण सम्पन्न हुने गरी प्रवेशद्वारको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माण भई प्रदेशको क्रमागत बजेटमा आयोजना समेटिएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पहिलो वर्ष रु ४५ लाखको ठेक्का भएकामा निर्माण कम्पनीले २२ प्रतिशत कममा काम गर्ने सम्झौता भएको थियो । त्यसपछि बजेट विनियोजन नभएपछि आयोजनाले निरन्तरता पाउन सकेन । सुदूरपश्चिम पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीका प्रमुख कालीराम चौधरी भन्छन्, “यदि क्रमागत बजेट विनियोजन भएको भए पनि आयोजना छ भन्ने थाहा हुन्थ्यो । काम भएन, अरुले पनि आयोजनाका बारेमा जानकारी दिनुभएन ।”

आउँदो वर्षका लागि कार्यक्रम छनोटको काम सुरु भएको उल्लेख गर्दै उहाँले वडाबाट सिफारिस ल्याएर बजेट माग गर्न सके प्रवेशद्वार निर्माणलाई निरन्तरता दिन सकिने बताए । अहिले प्रदेश सरकारले नयाँ मापदण्डअनुसार योजना छनोट गर्न सुरु गरेको छ । प्रदेशले योजना माग वडा तहबाटै आह्वान गरेको छ । वडाको सिफारिससहित माग भएका योजनालाई प्रदेशले आगामी आर्थिक वर्षमा प्राथमिकतामा राख्ने जनाएको छ ।

कैलाश मानसरोवर प्रवेशद्वारलाई मुख्य पर्यटन क्षेत्रसँग जोडेर तत्कालीन नेपाली कांग्रेसका संसदीय दलका नेता डा.रणबहादुर रावलले बजेट विनियोजन गर्न लगाएका थिए । कैलाश मानसरोवर तीर्थयात्रा जाने धार्मिक पर्यटकलाई त्यहीँ प्रवेशद्वारमा अन्य धार्मिकस्थलको जानकारीसमेत दिने व्यवस्थासमेत गरिने योजना छ ।

त्यो बाटोबाट तीर्थयात्रा जाँदा मोहना त्रिवेणीधाम, त्यस्तै कर्णाली त्रिवेणीधाम हुँदै मानसरोवरको यात्रा तय गर्न सकिने योजनाका साथ काम सुरु गरिएको डा.रावलले बताए । प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइका इञ्जीनियर नरेन्द्र खडायतले कोरोनाका कारण काम पूरा गर्न नसकिएको उल्लेख गर्दै त्यसपछिका वर्षमा बजेट नपरेपछि कामलाई निरन्तरता दिन नसकिएको बताए ।

 

Loading...