

धनगढी- पूर्वराजा ज्ञानेन्द्र शाहले नक्कली भुटानी शरणार्थी प्रकरणले सोझासाझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने प्रपञ्च भएको बताएका छन् ।


सोमबार धनगढीमा भएको उनको नागरिक अभिनन्दनमा सम्बोधन गर्दै पूर्वराजा शाहले उच्च तहका नेताहरूको यस्तो हर्कतले देशको इज्जत र गौरव लोप भएको बताएका हुन् । शाहले अब जनतालाई ढाँट्न नहुने बताएका थिए । राजनितिक दलहरुलाई इगिंत गर्दै शाहले देशलाई आर्थिक घाटा तर्फ लगेर आफ्नो स्वार्थ सिद्ध गर्न नहुने बताएका थिए ।


नेपाली जनतालाई आफ्नो भू-भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत भएको छ त्यसले नेपालीको इज्जत र गौरव सवै लोप भएको उनले बताए । पुर्व राजा शाहाले देशभित्रै बसौं, देशमै पसिना बगाऔं र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना विस्तारै हराउँदै गएको बताए ।

नेपालका राजनैतिक दल प्रति आक्रोस पोख्दै पूर्वराजा ज्ञानेन्द्र शाहले के अग्रगामी भनेको परालम्बी नेपाल हो भनेर प्रश्न गरेका छन् । पछिल्लो समय वीर परिश्रमी र स्वाभिमानी नेपालीहरुको वीरता र स्वाभिमान श्रम सीप सबैथोक खोसिएको उनले बताए । उनले नेपालको अहिलेको अवस्था देख्दा हामी सबैको आँखा रसाउँदै गएको बताएका थिए ।
“के नयाँ नेपाल भनेको यही हो ?,” उनको प्रश्न छ, “के अग्रगामी भनेको परावलम्बी नेपाल हो रु के नेपालको आफ्नो अस्तित्व छैन रु हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन र ?”
शाहले बिगतका उधोग कलकारखाना कहाँ गए भनेर बर्तमान राजनितिक दलहरुलाई प्रश्न गरे । बिगतको इतिहाँसलाई निरन्तरता दिदै युग सुहाउँदो बिकास गर्नुपर्नेमा त्यो हुन नसकेको शाह बताउँछन् । बिगतको पाठ सिक्दै जनताको चाहाना अनुसार बिकास गर्नुपर्नेमा त्यो हुन नसकेको उनले बताए। शाहले कस्तो देश निर्माण गर्ने जनताकै जिम्मा दिन आग्रह गरेका छन् ।
उनले भने “हाम्रै आँखाले देखेको र स्वयम् अनुभूत गरेको कुरा हो चार दशक अघि सम्म हाम्रो देश कृषि, वन आदी कतिपय – विषयमा आत्मनिर्भर थियो, आफ्नो आवश्यकतालाई परिपूरण गरेर हामी धान चामल निर्यात गर्दथ्यौं । ग्रामीण तथा शहरी कलकारखाना, साना लघु उद्योग धन्दाहरु कता विलाए किन हराए जल जमिन जंगल जडिबुटी र जनस्तरीय सीप सबैतिर आज उजाडको अवस्था छ ।
हाम्रा घर आँगन पिडी र छिंडीमा चल्ने जन शिल्पीका कैयन् कुटीर उद्यम व्यवसायहरु पूरापूर लोप भएर गएका छन । हिजोका हाम्रो अग्रजहरु र हाम्रा पौरखी पुस्ताहरुलाई श्रेय दिएर सम्झना गर्ने कि ? नगर्ने ? यस्ता थुप्रै प्रश्नहरु तपाई हामी सामु छन् । शाह पछिल्लो समय भारतको उत्तर प्रदेशको भ्रमण सकेर नेपाल फर्किएका हुन । लखनऊ जानुअघि उनको नेपालगञ्जमा नागरिक अभिनन्दन गरिएको थियो । धनगढीमा गरिएको नागरिक अभिनन्दन कार्यक्रममा कैलाली, कञ्चरनपुर र पहाडी जिल्लाबाट समेत सयौँ नागरिकहरुको सहभगिता रहेको थियो ।

