मन्त्रीको नाम माग्न काठमाडौँ पुगे सुदूरपश्चिमका मुख्यमन्त्री शाह

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह सरकार विस्तारको लागि छलफल गर्न काठमाडौँ पुगेका छन् । २६ माघका मुख्यमन्त्रीमा नियुक्त भएका शाह यस अघि पनि पटक पटक सरकार विस्तारका लागि शीर्ष नेताहरूलाई मनाउन काठमाडौँ पुगेका थिए । तर, भागबन्डामा सहमति नहुँदा मुख्यमन्त्री नियुक्त भएको ३ महिना सम्म चार मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन् ।

यस पटक मन्त्रीको नाम नै लिएर फर्किने योजना बनाएर हिजो काठमाडौँ पुगेका मुख्यमन्त्री शाहले आज बिहानै देखि सरकार विस्तारको लागि शीर्ष नेताहरूसँगको छलफललाई तीव्रता दिएका हुन् । आज बिहान बालुवाटारबाट भेटघाट सुरु गरेको माओवादी स्रोतको दाबी छ ।

godawari10 Mahila hinsa
Navadurga sun

‘बिहान ८ बजे बालुवाटारमा सरकार विस्तारको छलफल गर्ने कुरा तय भएको थियो’ माओवादीका एक नेताले भने, ‘माओवादीबाट मन्त्री बन्नेको नाम माग्न उहाँ प्रधानमन्त्री तथा माओवादी अध्यक्षलाई भेट्न बालुवाटार जाने कुरा भएको हो ।’

सुदूरपश्चिम सरकारमा माओवादीले २ मन्त्रालय पाउने छ । २ मन्त्रालयको लागि आधा दर्जन आकांक्षी छन् । माओवादीबाट संसदीय दलका नेता खगराज भट्ट, ओम विक्रम भाट सरल, झपट साउद,अक्कल रावल, रमेश धामी, शिव ओली लगायतका नेताहरू मन्त्री बन्ने दौडमा छन् । आकांक्षी धेरै भएका कारण माओवादीले मन्त्रीको नाम टुङ्गो लगाउन सकेको छैन ।

‘आज प्रधानमन्त्रीलाई भेटेपछि टुङ्गिन्छ’ माओवादी स्रोतले भन्यो ‘यहाँले आजै भन्नु भयो भने भोलि सरकार विस्तार हुन्छ ।’ संसदीय दलका नेता खगराज भट्टले मन्त्रालय पाउने करिब पक्का जस्तै छ । तर, उनी मन्त्री नियुक्त हुँदा संसदीय दलको नेता अर्को सांसदलाई बनाइनु पर्ने विषयले पनि माओवादीमा समस्या भइरहेको हो।

माओवादीमा मन्त्री छान्न सकस भइरहेको बेला नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीको नाम करिब टुङ्गो लगाइसकेको छ । पहिलो चरणमा संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मण किशोर चौधरी मन्त्रीमा नियुक्त गर्ने करिब टुङ्गो लागिसकेको नागरिक उन्मुक्तिका एक केन्द्रीय पदाधिकारीले जानकारी दिए । त्यसका अलवा एक राज्य मन्त्री र एक विषयगत समितिको सभापति समेतमा उनीहरूको अडान रहेको छ ।

Dadeldhura hospital

केही दिन अघि सम्म मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिलाई एउटा मन्त्रालय मात्रै दिने गरी छलफल गरेका थिए । त्यस लगत्तै नागरिक उन्मुक्तिकी केन्द्रीय अध्यक्ष तथा संघीय सांसद रन्जिता श्रेष्ठको नेतृत्वमा सुदूरपश्चिम प्रदेशका सबै सांसदले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

त्यस क्रममा एउटा मात्रै मन्त्रालय दिएको अवस्थामा सरकार नजाने सम्मको चेतावनी दिएपछि प्रचण्डले सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई २ मन्त्रालय दिलाउन पहल गर्ने प्रतिबद्धता दिएका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको ३ महिना सम्म पनि ४ मन्त्रालयमा मन्त्री नियुक्त गर्न नसकेको भन्दै आलोचित भइरहेका मुख्यमन्त्री शाह कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा समेत रहेका प्रकाश देउवालाई लिएर काठमाडौँ गएका हुन् । देउवा सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

मुख्यमन्त्री शाहले यहाँ भौतिक पूर्वाधार विकास मन्त्रालयमा देउवालाई र आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई नियुक्त गरेका हुन् । काठमाडौँ जाँदा देउवालाई लिएर गएपछि शाहले शाहीलाई भने लगेनन्। तर, मुख्यमन्त्री शाहसँगै नेकपा एकीकृत समाजवादीका दलका उपनेता प्रकाश रावलले काठमाडौँ गएका छन् ।

नेकपा एकीकृत समाजवादीले पाएको आर्थिक मामिला तथा योजना मन्त्रालय माओवादी केन्द्रले पनि दाबी गरेको छ । आफ्नो पार्टीले पाएको मन्त्रालय खोसिन सक्ने सम्भावना भएपनि रावल मुख्यमन्त्री र भौतिक मन्त्रीसँगै काठमाडौँ लागेका हुन् ।

अहिले माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय मध्ये एक, सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय मध्ये एक मन्त्रालयका दाबी गरिरहेको छ ।

यता नागरिक उन्मुक्ति पार्टीले सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दाबी गरेको छ । माओवादी र नागरिक उन्मुक्ति पार्टीलाई २र२ मन्त्रालय दिँदा १९ जना प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री र एक मन्त्रालयमा चित्त बुझाउने पर्ने देखिन्छ ।

यहाँ सबै भन्दा ठुलो दल रहेको कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्रका १र१ सांसद छन् ।

 

Loading...