बेवारिसे बन्यो ऐतिहासिक महत्वको गर्भा दरबार

धनगढी- ऐतिहासिक महत्वको गर्भा दरबार बेवारिसे बनेको छ । कैलालीको चुरे गाउँपालिका–४ खैरालामा रहेको राणाकालीन दरबार संरक्षण र प्रयोग नहुँदा जीर्ण हुँदै बेवारिसे बनेको हो ।

कैयौँ वर्षदेखि प्रयोगमा नआएको दरबार अलपत्र अवस्थामा छ । छाना उप्किन थालेको दरबारको भित्ता पनि भत्किन थालेका छन् । त्यस्तै, झ्याल, ढोका सबै भत्किएका छन् । त्यसमा रहेका मूर्ति चोरी भइसकेका छन् । पर्यटन सम्भावनाको दरबार खण्डहरमा परिणत भएको छ ।

Navadurga sun
Godawari sandesh

गर्भा दरबार अत्यधिक जीर्ण भइसकेकाले अब यसको मर्मत, सम्भार गर्न नसकिने चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए ।। ‘मर्मत, सम्भार गर्न सकिन्न’, उनले भन्नुभयो,‘अब पुरानो संरचना भत्काएर त्यस्तै नयाँ बनाउनुको अर्को विकल्प छैन ।’

तत्कालीन राणा शासकहरूले पोत (कर) उठाउने र मुद्दा मामिला मिलाउने उद्देश्यका साथ यो दरबार बनाएका बुझिएको छ । तर, ९५ वर्ष पुरानो दरबार २२ वर्षदेखि प्रयोगविहीन छ । स्थानीयका अनुसार १९७९ मा शिलान्यास गरिएको दरबार १९८४ मा बनाइएको थियो । यो दरबार बनाउन पाँच वर्ष लागेको थियो ।

दरबारमा ८३ झ्याल र ५३ वटा ढोका छन् । तीन तले दरबारको पर्खालमा मासको गारो पोतिएको थियो भने, जापानबाट ल्याइएको जस्तापाताले छाइएको छ ।

Dadeldhura hospital

जीर्ण भइसकेको दरबार भत्काएर बनाउनका लागि सुदूरपश्चिम प्रदेश सरकारले २० करोड रुपियाँको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० बनाएको जनाइएको छ । तर, पुरातत्त्व विभागले अनुमति नदिँदा काम हुन नसकेको गाउँपालिकाका अध्यक्ष बोगटीले बताए । उनका अनुसार अघिल्लो सरकारकै पालामा तीन वर्ष अगाडि डीपीआर बनेको थियो । ‘तर, दरबारको सय वर्ष नपुगेकाले पुरातत्त्व विभागले काम गर्न अनुमति दिएको छैन’, बोगटीले भने,‘सय वर्ष पुग्न अझै केही वर्ष बाँकी छ । अनि, बल्ल अनुमति हुन्छ ।’

प्रदेश सरकारले गर्भा दरबारलाई पर्यटकीय स्थल बनाउन खोजेको जनाइएको छ । त्यसका लागि पुरानो संरचनालाई भत्काएर पहिलेको जस्तै नयाँ दरबार बनाउने गाउँपालिकाका अध्यक्षले बताए । अहिले बाटोको समस्या नरहेका कारण पर्यटन फस्टाउन सक्ने उनको बुझाइ छ ।

गौरीगङ्गा नगरपालिकाको चौमाला हुँदै गर्भा दरबारसम्म पुग्ने बाटो बनिसकेको छ । त्यस्तै, वडा नम्बर ४, २, १ हुँदै बाटो पालिका मुकाम सहजपुरमा पनि जोडिएको जनाइएको छ । दुईतिरबाट गर्भा दरबारसम्म पुग्न सकिने अध्यक्ष बोगटीले बताए ।

स्थानीयवासीको अनुसार विक्रम सम्वत २०३३ सालदेखि दरबारमा मान्छे बस्न छोडेका थिए । पछि यसैमा हुलाक र गाविस कार्यालय राखिएको थियो । तर, तत्कालीन १० वर्षे द्वन्द्वको क्रममा हुलाक र गाविस कार्यालयमा आगजनी भएपछि कुनै पनि प्रयोजनार्थ यो दरबार उपयोग भएको छैन । २०५७ सालबाट दरबारको स्याहार, सम्भार हुन छोडेको थियो । दरबारको १३ रोपनी जग्गामध्ये आधा स्थानीय बस्नेत निम्न माध्यमिक विद्यालय र आधा वडा कार्यालयको नाममा रहेको छ ।

दरबार पुनः निर्माणको काम नभएपछि खण्डहरमा परिणत भएको पूर्व वडा अध्यक्षसमेत रहनु भएका स्थानीय कृष्ण मल्लको भनाइ छ । आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट छुट्ट्याए पनि काम नभएपछि बजेट फ्रिज गएको उनले बताए ।

यो दरबार सुरुमा श्रीबहादुर शमशेर दरबारको नामले चिनिएको बताइन्छ । खैरालाको भर्गा भन्ने स्थानमा रहेकाले पछि मात्रै यसको नाम गर्भा दरबार राखियो । दरबार खडक शमशेरले बनाए पनि राणाहरूले अंशबन्डा गर्दा गर्भा दरबार लेफ्टिनेन्ट जर्नेल बहादुर शमशेरको स्वामित्वमा आएको बताइएको छ । राणाहरूले छोडेको दरबार अब बेवारिसे अवस्थामा रहेको छ । गोरखापत्रबाट

 

Loading...