अवैध उत्खननले गेरुवाको पानी सुक्दै

बर्दिया- कैलालीको लम्किचुहा नगरपालिका र जानकी गाउँपालिका सीमासँग बग्ने कर्णाली नदीमा अवैध उत्खननसँगै लालमटियामा थुपारेको ढुंगा, बालुवाले गेरुवा नदीमा पानी सुक्दै गएको छ । एक दशक अघिसम्म बाह्रै महिना कर्णालीको भंगालो गेरुवामा पानी तीव्र गतिमा बग्ने गरेकोमा सुक्दै गएको छ ।

कर्णाली चिसापानीस्थित रानीजरुवा सिँचाइ आयोजनातर्फ बढी पानी बग्नु र पश्चिमतर्फ अवैध उत्खननले गेरुवा नदीमा पानी सुक्दै गएको स्थानीय बताउँछन् । बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा वन्यजन्तुको लागि मुख्य स्रोत गेरुवा नदीको पानी सुक्दै पश्चिमतर्फ बढी बग्न थालेका कारण वन्यजन्तुलाई पिउने पानीको समस्या हुन थालेको छ । ०७१ र ०७४ मा आएको बाढीले बर्दिया निकुञ्जको लालमटिया क्षेत्रमा बगाएर ल्याएको ढुंगा र बालुवा भरिएको छ ।

Navadurga sun
Godawari sandesh

ढुंगा र बालुवा भरिएपछि पानी बग्न नसकेका कारण पश्चिमतर्फ बढी बग्दै गएको छ । लालमटियामा थुपारेको ढुंगा र बालुवा नहटाएसम्म समस्याको समाधान नहुने जनप्रतिनिधि बताउँछन् । ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले लालमटियामा बाढीले थुपारेको नदीजन्य पदार्थ हटाउन दीर्घकालीन समस्याको समाधन गर्नु पर्ने बताए । गेरुवामा पानी सुक्दै गएपछि वन्यजन्तु प्रभावित भएका छन्,’ उनले भने, ‘पानी नबगेका कारण सूर्यपटुवा कुलो बन्द जस्तै भएकोले सिँचाइ सुविधाबाट किसान प्रभावित भएका छन् ।’

बर्दियासँग पश्चिमतर्फ जोडिएको कैलाली सीमानामा पर्ने लम्किचुहा नगरपालिका र जानकी गाउँपालिकास्थित बगेको कर्णाली नदीमा अवैध उत्खननले गेरुवामा जलस्तर सुकेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । दुवैतर्फ पानी बराबर बाँडफाँट हुन सकेको छैन,’ उनले भने, ‘यस्ले गर्दा वन्यजन्तुलाई पिउने पानीदेखि सिँचाइ सुविधा प्रभावित पारेको छ ।’

Dadeldhura hospital

चिसापानीदेखि करिब ३ किमी दक्षिणबाट कर्णाली नदी विभाजन भएर पूर्व र पश्चिमतर्फ बगेको छ । पश्चिमतर्फको भागलाई कर्णाली र पूर्वमा यसको भँगालो गेरुवा नदी बगेको छ । कर्णाली नदी कहिले छुट्टियो कसैलाई आधिकारिक जानकारी भने छैन । कैलाली जिल्लाको जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विगतमा कर्णाली नदीमा अवैध उत्खनन भएको बताए ।

मेरो पालामा अवैध उत्खनन रोक्ने काम भएको छ,’ उनले भने, ‘यसका लागि खोलामै अवैध काम रोक्नका लागि कर्मचारी परिचालित गरेका छौं,’ उनले अवैध उत्खननमा प्रयोग हुने सवारी साधन नियन्त्रणमा लिइ कारबाही समेत गरेको जनाए । गेरुवा नदीमा पानी सुक्दै गएपछि निकुञ्जको आसपासका बस्तीमा हात्ती, बाघ लगायत वन्यजन्तु पस्ने गरेका छन् ।

स्रोत कम भएपछि ती वन्यजन्तु पानीका लागि निकुञ्ज बाहिर आउजाउ गर्ने गरेका छन् । कैलाली लम्किचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले कार्यभार सम्भाल्दा हामीलाई अवैध उत्खनन भएको जानकारी नभएको बताइन् ।  अहिले अवैध उत्खनन् भएको कुरा गलत हो र यहाँ हामीले ठेक्का पनि नदिएको बताइन् ।

कर्णाली र गेरुवामा पानी बाँडफाँट हुनु पर्छ,’ उनले भनिन्, ‘डाइभर्सन गरी कर्णाली र गेरुवामा पानी बराबर छाड्नु पर्छ ।’ बर्दिया निकुञ्जले गेरुवाको लालमटियामा बाढीले थुपारेको ढुंगा, गिट्टी, बालुवा झिक्न नमान्दा कैलालीमा बाढी पस्ने र कटान तीव्र हुने गरेको मेयर शाहीले बताइन् ।

चिसापानीस्थित कर्णाली नदीबाट सिँचाइ सुविधा पुराउने उद्देश्यले निर्माणाधीन रानीजमरा सिँचाइ आयोजना, कैलालीले पनि गेरुवाको पर्याप्त पानीको प्रयोग गरेको छ । आयोजनाले भने अवैध उत्खननले पनि पश्चिमतर्फ नदी कटान र बाढीको जोखिम भएको जनाएको छ । आयोजना प्रमुख केदार श्रेष्ठले कर्णाली र गेरुवामा पानी बराबर बग्नु पर्ने बताए ।

अवैध उत्खनन र लालमटियाबाट नदीजन्य पदार्थ हटाउन मुख्य चुनौती छ,’ उनले भने, ‘बर्दिया निकुञ्ज, कैलाली र बर्दियास्थित पालिकाका प्रमुख लगायत जनप्रतिनिधिको पहलमा यस्को समाधान हुन जरुरी छ ।’ पानी बराबर बाँडफाड भए बाढीको समस्या न्यूनीकरण हुने उनले बताए । कान्तिपुरबाट

 

Loading...