

धनगढी- कैलालीको घुरहा नदीमा रहेको पुल छेउको जमिन भासिएपछि दुर्घटनाको जोखिम बढेको छ । कैलारी गाउँपालिका–४ र ६ को सिमानामा रहेको उक्त पुलमा दुर्घटनाको जोखिम बढेको हो ।


केगाउँ र भगतपुर जोड्ने पुलको पूर्वी भागमा जमिन भासिएको छ । भासिएको क्षेत्रमा मर्मत कार्य नभएपछि दुर्घटनाको जोखिम बढेको भनाइ स्थानीयको छ । पुल भएर दैनिक कैयौँ मानिस सवारीसाधनबाट ओहोरदोहोर गर्ने गर्छन् ।



भासिएको ठाउँमा स्थानीय सरकारले मर्मतको लागि ध्यान नपु-याउँदा दुर्घटनाको जोखिम बढेको कैलारी गाउँपालिका–४ के गाउँका भीम तिरुवाले बताए । “बिग्रेको ठाउँमा मर्मत गर्नुपर्ने दायित्व स्थानीय सरकारको हो,” उनले भने, “तर अहिलेसम्म ध्यान पुगेको देखिन्न । जसका कारण दुर्घटनाको जोखिम बढेको छ ।”
उनले जनप्रतिनिधिले चुनावको बेला बाटो मर्मत गर्ने प्रतिबद्धता जनाए पनि आफ्नो प्रतिबद्धतानुसार काम गर्न नसकेको गुनासो गरे । केही वर्षअगाडि बाढीले कटान गरेपछि त्यो पुलको पूर्वी भागतर्फको जमिन भासिन सुरु भएको थियो ।
जमिन भासिँदै गएर पुल पश्चिमतिर नदी पूर्वतिर जाने अवस्था सिर्जना भएको छ । बिग्रेको ठाउँमा गाउँपालिकाको कार्यालयले मर्मत गर्दै आए पनि त्यो टिकाउ हुन सकेको छैन ।
पुलको पूर्वतर्फ देखा परेको समस्या समाधानका लागि अझै पूर्वाधार थप गर्न आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताए । उनका अनुसार त्यसका लागि एक करोड रुपियाँको लागत स्टिमेट पनि गरिएको छ ।