सेवा सुविधा नपाएको फरक क्षमताका व्यक्तिहरूको गुनासो

कैलाली- फरक क्षमताका व्यक्तिहरूले संविधानमा उल्लेखित हकअधिकार र सरकारले नै जारी गरेको निर्देशिकाअनुसारका सेवा सुविधा नपाएको गुनासो गरिएको छ ।

स्पाइनल इन्जुरी भई हृवीलचियर प्रयोग गर्नुपरेका ‘ख‘ वर्गका फरक क्षमताका व्यक्तिहरूलाई उपचार तथा जीविकोपार्जनका लागि सरकारले मासिक पाँच हजार दिने बजेटमा घोषणा गरे पनि आफूहरूले नपाएको उहाँहरूको भनाइ थियो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले सो धारणा राख्नुभएको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले प्रदेशको भौतिक पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि सँगै लैजाने बताए ।

भौतिक विकासले मात्रै प्रदेशको समग्र विकास सम्भव नहुने भएकाले समाजमा रहेका सबै वर्गको शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको लागि प्रदेश सरकार नयाँ तरिकाले अगाडि बढ्ने उनले बताए ।

राष्ट्रिय अपाङ्ग महासङ्घका सङ्घीय अध्यक्ष देवीदत्त अचार्यले पुनर्स्थापनामा अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्यसँगै सञ्चार, आगमनमा पहुँच, जीविकोपार्जनलगायतका सवाल सम्बोधन हुने जानकारी गराउँदै कार्यान्वयनमा तत्परता देखाउन सबैमा आग्रह गरे ।

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंह र प्रदेश स्वास्थ्य निर्देशक डा। जगदीश जोशीले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा प्रदेश सरकारले गरिरहेका कामबारे जानकारी दिए ।

Loading...