धनगढी- कैलालीको बड्का बनुवाँ भनेर चिनिने बसन्ता वन क्षेत्र मासेर बाढी पीडितले टहरा निर्माण गरेका छन् । कैलारी गाउँपालिका –५ स्थित पवेरा सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर बाढी प्रभावितले घर टहरा निर्माण गरेका हुन् ।
बन्दरगौरही गाउँका करिब ३८ परिवारले सामुदायिक वन क्षेत्रमा घर टहरा बनाएका छन् । गत असोज–कात्तिकमा आएको बाढीका कारण ती परिवार आश्रय खोज्दै सामुदायिक वन क्षेत्रमा विस्थापित भएका थिए । बाढीबाट जोगिन अस्थायी रुपमा बसोबास गर्न वन क्षेत्रमा गएका पीडितले पछि त्यही टहरा बनाएको वडा –५ का वडा अध्यक्ष विष्णुप्रसाद चौधरीले बताए ।
यसैबीच बाढीपीडितको नाममा वन अतिक्रमण गरी घर टहरा बनाउने, व्यापार गर्ने लगायतको कार्य भइरहेकाले त्यस्ता संरचना हटाउन सवडिभिजन वन कार्यालय बसन्ताले उर्दी जारी गरेको छ ।
पर्सीसम्म संरचना नहटाए वन ऐन २०७६ बमोजिम स्थानीय प्रशासनको सहयोगमा बल प्रयोग गरेर हटाइने सवडिभिजन वन कार्यालय प्रमुख श्यामसुन्दर माझीले बताए । एक हप्ताभित्रै आफै संरचना हटाउन वन कार्यालयले दिएको समयसीमा पर्सी पूरा हुँदैछ ।
