धनगढी- गर्मी बढेसँगै कैलाली र कञ्चनपुरको चुरेक्षेत्रमा डढेलोको प्रकोप बढेको छ । कञ्चनपुरमा ब्रह्मदेवदेखि कैलालीको गोदावरीसम्म दर्जन बढी ठाउँमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्र, बेदकोट नगरपालिकाको बेदकोट ताल र चोरपानी क्षेत्र, शुक्लाफाँटा नगरपालिकाको वडा ५ र ८ को उत्तरी क्षेत्रमा डढेलो लागेको हो ।
चुरेमा डडेलधुरा र कञ्चनपुर जोड्ने बाटोमा डढेलोको बढी प्रकोप रहेको स्थानीयले बताएका छन् ।
त्यसैगरी लालझाडी मोहना संरक्षित क्षेत्रमा पनि डढेलो लागेको छ । पिपरिया र चुरे फेदीमा संरक्षित क्षेत्रमा पनि डढेलो लागेको छ। डिभिजन वन कार्यालयका अनुसार डढेलोका कारण हालसम्म ११३ हेक्टर बढी वन क्षेत्र प्रभावित भएको छ । पिपरैयामा ७० हेक्टर र चुरे फेदीमा ५२ हेक्टर हाराहारी वन क्षेत्र डढेलोले प्रभावित भएको छ ।
डढेलोका कारण हुने वातावरणीय र अमूल्य वनसम्पदाको क्षतिको भने लेखाजोखा नै हुने गरेको छैन । जलवायु परिवर्तनका कारण बढेको तापक्रम, लामो खडेरीका कारण यस वर्ष धेरै ठाउँका जंगलमा आगो लागेको छ । आगलागीबाट वन विनाश त भयो नै, वनमा आश्रित जीवजन्तु, चराचुरुंगीका आश्रयस्थल नष्ट भए, कति जीवजन्तुले ज्यान गुमाए, भौतिक रुपमा कति क्षति भयो, कुनै लेखाजोखा नै छैन ।
हरेक वर्ष लाग्ने डढेलो संकटको स्तरमा पुग्ने गरे पनि सरकारी निकायहरु जंगलको संख्या गणनामा मात्र सीमित हुने गरेका छन् । तर, डढेलोले वनस्पति तथा बहुमूल्य जडिबुटी तथा लोपोन्मुख पशुपन्छीको अस्तित्व संकटमा परेको तर्फ न त संघीय सरकार, न स्थानीय तह नै चिन्तित छ ।
डढेलोले वनस्पती तथा वन्यजन्तुसम्बन्धमा पारेको असरबारे अहिलेसम्म सरकारी तथा गैरसरकारी निकाय कसैले पनि अनुसन्धान गरेका छैनन् भने वन डढेलो नियन्त्रण रणनीति कार्यान्वयन गर्न अहिलेसम्म कुनै कार्ययोजना नै बनेको छैन । यस्तै, संघीय सरकारले डढेलो नियन्त्रणका लागि छुट्याएको बजेट पनि न्युन हुँदा सो बजेट पनि तालिमकै नाममा खर्च हुने गरेको छ ।
