कैलालीको ‘जुम्ला’ तिर सांसद बलायर : के सपना देखाएर फर्कलान् ?

चौमाला– मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी छोडेर कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका बीरबहादुर बलायर यो क्षेत्रबाट सानदार मतले विजयी भए ।

पुरानो बाम पकडलाई भत्काउँदै यस क्षेत्रका जनताले आफ्ना जनप्रतिनिधिका रुपमा बलायरलाई जिताएर पठाए । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति तथा पूर्व मन्त्री समेत रहेका बलायर यस क्षेत्रबाट विजयी भएमा यसअघिका जनप्रतिनिधिले पुरा नगरेका उधारा सपना पुरा गर्लान भन्ने आसा र भरोसा यस क्षेत्रका जनतामा छ ।

Navadurga sun
Godawari sandesh

निर्वाचन जितेपछि सांसद बलायर कैलालीको जुम्ला भनेर चिनिने साबिक गोदावरी, खैराला र मोहन्याल गाउँपालिका हालको चुरे २, ४ मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ मा कार्यकर्ता भेटघाट कार्यक्रममा पहिलो पटक जाँदैछन् । उनले आफ्नो निर्वाचन क्षेत्रको विकट पालिकामा चिर्वाचनताका पनि नपुगेको स्थानमा यसपटक वैशाख ११ देखि १५ गतेसम्म पुग्ने कार्यतालिका बनाएका छन् ।

यतिबेला सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेस नै छ । भौतिक मन्त्रालय पनि कांग्रेससँगै छ । चुरे ४ मा २० वर्षदेखि बन्न नसकेको र मोहन्यालमा अधुरो अवस्थामा रहेको सडकले यस क्षेत्रका जनप्रतिनिधिबाट ठूलो आसा र अपेक्षा गरेको छ । तर संघीय सरकारको नजरमा कहिल्यै नपरेका यी वस्तीमा बनिरहेका सडकका लागि विनियोजित बजेट पनि यसपटक प्रदेश सरकारले अहिले आएर कटौती गरेर रकमान्तरका नाममा मनपरी गरिरहेको गुनासो गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले व्यक्त गरेका छन् ।

Dadeldhura hospital

‘प्रदेश सरकारले छुट्याएको बजेट पनि काटिदिएको छ । झण्डै दुई दर्जन कर्मचारी, तीन स्थानमा स्वास्थ्य चौकी र कतिपय शिक्षकलाई गाउँपालिका आफैले धान्नुपरिरहेको छ’, अध्यक्ष बोगटीले भने, ‘विकटको पालिका भएकाले आम्दानीको स्रोत छैन, प्रदेशले दिएको बजेट पनि कटौती गरेको छ । संघीय सरकारले हेर्दैन ।’

यसरी सबैतिरबाट उपेक्षित चुरे गाउँपालिकाको सबैभन्दा उपेक्षित र विकट साविक खैराला र मोहन्याल क्षेत्रका लागि सांसद बलायरले कार्यकर्ता जथा मतदाता भेटघाटका क्रममा कस्तो कोशेलीको प्रतिवद्धता गरेर फर्कनेछन् ? भन्ने विषय यहाँका जनताका लागि चासोको विषय बनेको छ ।

आफूहरुले जिताएर पठाएका नेताले आफूहरुले वर्षौँदेखि गाउँमा पाउन नसकेको स्वास्थ्य सेवा, उच्च शिक्षा, सडक मार्गलाई राष्ट्रिय स्तरको योजनामा पारिदिनुपर्ने अपेक्षा यहाँका जनताले गरेका छन् ।

केन्द्रमा पनि कांग्रेस सरकारमा भएको र प्रदेशमा कांग्रेसकै नेतृत्व भएकाले पनि यस क्षेत्रको उपेक्षाबारे उनले सम्बन्धित निकायमा आवाज उठाइदिने अपेक्षा यहाँका जनताको छ । कतिपय स्थानीय भने प्रतिवद्धता गर्ने तर पुरा नगर्ने नेताहरुको पुरानै रोग दोहोरिने हो कि भन्ने चिन्तामा छन् ।

कैलालीको सबैभन्दा विकट गाउँमा रहेको खैराला ऐतिहासिक रुपले महत्वपूणर् मानिन्छ । करिब सय वर्ष पुरानो राणाकालीन दरबार भएकाले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने र चौमालको झिलबाट छोटो र कम पुल निर्माण गर्नुपर्नेगरी सडकबाटो खैराला जोड्नुपर्ने चुरेका कांग्रेस नेता टीकाराम ढुंगाना बताउँछन् ।

बनिरहेको मोटरबाटो चौमाला बजारबाट निकै घुमाउरो र ६ किलोमिटरमै तीन पुल निर्माणा गर्नुपर्ने भएकाले यो बढी खर्चिलो हुने चुरे गाउँपालिकाका अध्यक्ष बोगटी पनि स्वीकार्छन् ।

‘त्यती धेरै लगानी गर्ने सामथ्र्य गाउँपालिकासँग छैन, प्रदेश र संघको उपेक्षा गरेको छ’, अध्यक्ष बोगटीले भने, ‘चौमालाको झील चौराहादेखि खैराला जोड्नेबाटो ७ किलोमिटर छोटो मात्र होइन पुल नै बनाउनु नपर्ने भएकाले कम लागतमा बन्ने देखिन्छ ।’ यसमा राष्ट्रिय स्तरका नेताहरुले पनि पहल गरिदिनुपर्ने अध्यक्ष बोगटीको आग्रह रहेको छ ।

Loading...