चार वर्षमा पनि पूरा भएन बसपार्क

बाजुरा- जिल्ला सदरमुकाम मार्तडीको पाल्तमा रहेको बसपार्क निर्माणको काम अलपत्र परेको छ। झन्डै चार वर्षअघि सुरु भएको सो बसपार्क निर्माणको काम अहिलेसम्म पूरा भएको छैन। साँफे–मार्तडी राजमार्गअन्तर्गत बाजुराको बार्जुगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भए पनि अहिलेसम्म बसपार्क नहुँदा त्यहाँ चल्ने सवारीसाधन सडकमै पार्किङ गर्दै आएको पवनदूत मार्तडी काउन्टर इन्चार्ज सन्तोष डँडालले बताए ।

उनले भने, ‘सडक कालोपत्रे भएसँगै गाडी मार्तडीसम्म गुड्न थालेको झन्डै चार वर्षभन्दा बढी भयो। बसपार्क निर्माण हुन लागेको पनि झन्डै चार वर्ष भयो। अहिलेसम्म निर्माण पूरा भएको छैन।’ ‘काठमाडौँ, नेपालगञ्ज, महेन्द्रनगर धनगढी, अत्तरियाबाट आउने सवारीसाधन सडकको छेउमै राख्नुपर्छ,’ डँडालले भने, ‘यसले गर्दा दुर्घटनाको जोखिम मोल्नु परेको छ।

Navadurga sun

बसपार्क निर्माणको काम नहुँदा मार्तडीको तुफानडाँडादेखि कारागारसम्मको झन्डै पाँच सय मिटर सडकछेउ गाडी पार्किङमा प्रयोग भएको छ।’ यसबाट बजारसम्म आउजाउ गर्दा स्थानीयले समस्या भोग्नु परेको छ। दुई दर्जनभन्दा बढी ठूला गाडी मार्तडीबाट अन्यत्र आउजाउ गर्छन्।

दूरसञ्चारदेखि तुफानडाँडासम्मको सडकभरि गाडी पार्किङ गरिरहन्छन्। ‘यात्रुका लागि न शौचालयको व्यवस्था छ, न त उनीहरूका लागि खानेपानीकै सुविधा छ,’ बसका सञ्चालक लोकेन्द्र सिंहले बताए ।

सो क्षेत्रमा बस काउन्टर पनि सडकको छेउमै छ। साँफे–मार्तडी राजमार्गअन्तर्गत निर्माण गरिएको सडक गैरीबजारसम्म पुगेको छ। सडक गाडी राख्ने ठाउँका रूपमा प्रयोग हुँदासमेत पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयले बताएका छन्।

बसपार्क निर्माणका लागि पर्याप्त जमिन नपाएकाले बसपार्क निर्माणमा ढिलाइ भएको बडीमालिका नगरपालिकाले जनाएको छ। बडीमालिका नगरपालिकाका प्रमुख अम्मर खड्काले अघिल्लो नगरपालिकाको नेतृत्वले पाल्तमा बसपार्क निर्माण सुरु गरेको बताए । त्यहाँ बाजुरामा चल्दै आएका लामो दूरीका सवारीसाधन धेरै नअट्ने भएकाले त्यसलाई कोल्टीसम्म चल्ने जिपहरूका लागि बसपार्क बनाउने र स्थायी रूपमा बाउलीमा बसपार्क निर्माण गर्ने बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...