कैलारी गाउँपालिका गाउँ–गाउँ पुगेर औषधि वितरण गर्दै

अत्तरिया, ८ बैशाख- कैलालीको कैलारी गाउँपालिकाले गाउँ–गाउँ पुगेर औषधि वितरण गर्न शुरू गरेकाे छ।

उक्त गाउँपालिकाले आवश्यक औषधि गाउँ–गाउँमा पुगेर गाउँपालिकाभित्रका सङ्क्रमितहरुलाई अौषधि वितरण गर्न थालेको हो।

godawari10 Mahila hinsa
Navadurga sun

सङ्क्रमण बढेपछि गाउँपालिकाले गाउँ–गाउँमा स्वास्थ्यकर्मी खटाएर सङ्क्रमितलाई लक्षण अनुसार विभिन्न औषधि निःशुल्क रुपमा प्रदान गर्दै आएको हो ।

पहिलो लहरको कोरोनाको बेला धेरै हद्सम्म सुरक्षित मानिएको सो गाउँपालिका दोस्रो लहरको कोरोनाको चपेटामा परेको छ।

पछिल्लो समय गाउँपालिकाका विभिन्न गाउँमा थुप्रै सङ्क्रमित पुष्टि भइरहेका गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए।

‘हिजोमात्रै विभिन्न वडामा गरेर ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ’, उनले भने । ‘सबैभन्दा बढी वडा नम्बर ३ मा सङ्क्रमित फेला परेका छन् ।’
सो गाउँपालिकाका विभिन्न गाउँमा बिरामी परेका धेरै मान्छेहरुले अझै पनि कोरोना परीक्षण गराएका छैनन् । उनीहरु टाइफाइडको नाममा स्थानीय मेडिकलमा उपचार गराइरहेका जनाइएको छ।

पछिल्लो समय बढी संक्रमित पुष्टि भएको वडा नम्बर ३ मा होम आइसोलेसनमा बसेका सङ्क्रमितहरुको स्वास्थ्य बखर बुझ्न र औषधि वितरणका लागि गाउँपालिकाले स्वास्थ्यकर्मी खटाइएको जनाइएको छ।

यसैगरी, अन्य गाउँमा पनि औषधिसहित स्वास्थ्यकर्मी परिचालन गर्ने अध्यक्ष चौधरीले जानकारी दिए।

केही हप्ता अगाडि सो गाउँपालिकाको वडा नम्बर ७ स्थित केही गाउँमा बढी सङ्क्रमित फेला परेका थिए।

Dadeldhura hospital

औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरेपछि अहिले अवस्था धेरै हद्सम्म सुधार भएको जनाइएको छ।

सङ्क्रमण पुष्टि भएका र कोरोनाका लक्षण देखिए पनि जाँच नगराइएका बिरामीलाई औषधिसहित आवश्यक परामर्श दिइएको थियो । धेरै सङ्क्रमित निको भइसकेका छन् ।

बिरामी भएका व्यक्तिहरु कोरोना परीक्षण गराउनुभन्दा पनि मेडिकलमा बढी जाने गरेका जनाइको छ।

स्थानीय मेडिकल सञ्चालकहरुले पनि टाइफाइड वा अन्य समस्या भएको भन्दै उपचार गर्ने गरेका छन्।

बिरामी परेका व्यक्तिहरु मेडिकलमा बढी जाने गरेको पाइएपछि कोरोना परीक्षणका लागि पठाउनका लागि मेडिकल सञ्चालकहरुलाई सम्झाइ बुझाइ गर्ने कार्य पनि भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए।

‘वडाहरुमा सम्बन्धित वडाकै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी खटाएर संक्रमितको अवस्था बुझ्ने, औषधि वितरण गर्ने कार्य गर्दै आएका छौं’, उनले भने।

यसैगरी, गाउँपालिकाले बैजपुरस्थित कोरोना अस्थायी अस्पतालमा सङ्क्रमितको उपचार पनि गर्दै आएको छ।

केहि दिनभित्रै अक्सिजन सिलिण्डर आउने र अक्सिजन आवश्यक परेका बिरामीलाई कोरोना अस्थायी अस्पतालमै उपचार गर्न सकिने सापकोटाको भनाइ थियो।

‘हामीले उपचार गर्न सक्ने बिरामीलाई आइसोलेसनमै राख्छौं’, उनले भने। ‘गम्भीर बिरामीलाई अरु अस्पतालमा रिफर गरिरहेका छौं।’

कैलारी गाउँपालिकामा हाल १७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । सो गाउँपालिकाका हालसम्म छ जना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ ।

Loading...