बैतडीमा चिकित्सक नपाउँदा कोभिड अस्पताल सञ्चालनमा समस्या

बैतडी, ७ जेठ– बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका छन्। सङ्घीय सरकारले गत वर्ष नै बजेट विनियोजन गरेर स्थापना गर्न लगाएका ती कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका हुन्।

सङ्घीय सरकारले गत माघमै स्थानीय तहमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि बजेट पठाए पनि पुर्चौँडी नगरपालिका, पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाहेकका स्थानीय तहले मेडिकल अधिकृत पाउन नसकेका हुन्। अस्थायी कोरोना अस्पतालमा भनेअनुसारको जनशक्ति नहुँदा समस्या भएको हो।

godawari10 Mahila hinsa
Navadurga sun

जिल्लाको सिगास गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा चिकित्सकका लागि तीनपटक आवेदन आह्वान गरेको भए पनि हालसम्म चिकित्सक पाउन नसकेको जनाएको छ। चिकित्सकका लागि तीनपटकसम्म आवेदन आह्वान गरेको भए पनि हालसम्म पनि चिकित्सक पाउन नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए।
अस्थायी अस्पतालमा एक चिकित्सक, दुई स्टाफ नर्स, एक सहयोगीको दशरबन्दी रहेको तर सिगासमा अहिले एक स्टाफ नर्स कार्यरत रहेको बताइएको छ। चिकित्सक पाउनै मुस्किल भएपछि गाउँपालिकामा भएकै जनशक्तिबाट अस्पताल सञ्चालन गरिरहेको बोहराको भनाइ छ।

Dadeldhura hospital

जिल्लाको मेलौली नगरपालिकाले पनि अस्थायी कोरोना अस्पतालका लागि पटकपटक जनशक्ति माग गरिएको भए पनि चिकित्सक नपाइएको जनाइएको छ। सुर्नया गाउँपालिकाले वासुलिङ्ग स्वास्थ्यचौकीमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको भए पनि चिकित्सक नपाउँदा एक स्टार्फ नर्समात्रै रहेको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।

जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाले पनि अस्थायी कोरोना अस्पतालका लागि आवश्यक जनशक्ति नपाएको जनाएका छन्। कोभिडका बिरामी बढ्दै गए पनि स्थानीय तहमा सञ्चालनमा आएका अस्थायी कोरोना अस्पतालमा चिकित्सक अभाव छ। यसले गर्दा उनीहरूको उपचारमा समेत समस्या भइरहेको छ।

स्थानीय तहहरूमा चिकित्सकसहित कोभिड अस्पताल सञ्चालनमा आएको भए जटिल खालका सङ्क्रमितको पनि स्थानीयस्तरमै उपचार गर्न सहज हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। कोरोना भाइरसको जोखिम बढ्दै गएकाले कोरोनाका बिरामीको उपचारका लागि गत वर्ष नै अस्थायी कोभिड अस्पताल निर्माणको अवधारणा ल्याइएको थियो।

अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि आएको रु १० लाख बजेटमध्ये स्थानीय तहहरूले रु पाँच लाख शय्यालगायत सामग्री खरिदमा खर्च गर्न भनिएको थियो भने ५० हजार बराबरको औषधि खरिद गर्नुपर्ने थियो।

यस्तै चार लाख ५० हजार जनशक्ति परिचालनमा खर्च गर्नुपर्ने जनाइएको थियो। बैतडीका दशरथचन्द नगरपालिकाबाहेकका अन्य सबै स्थानीय तहमा ती अस्पताल सञ्चालनमा रहेका हुन्। बैतडीमा हाल ८०० बढी कोरोनाका सक्रिय सङ्क्रमित छन् भने १३ जनाको मृत्यु भइसकेको छ। (रासस)

Loading...